दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले राष्ट्रिय परिचयपत्र बनाएर बुझन बाकी रहेका सेवा ग्राहीहरुलाई प्रशसनमा आएर आफ्नो परिचयपत्र बुझिलिन आग्रह गरेको छ । शुक्रबार प्रशासनको तर्फबाट एक सूचना सार्वजनिक गदैँ कार्यालयले राष्ट्रिय परिचयपत्र (कार्ड) बुझिलिन आग्रह गरेको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट २०७७ साल असोज १८ गतेदेखि वि:स २०८०साल श्रावण मसान्तसम्म छपाई भएर आएका राष्ट्रिय परिचयपत्रलाई बुझिलिन प्रशासनले जिल्लाभित्रका सेवाग्राहीलाई आग्रह गरेको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलामा मात्रै हालसम्म ८८ हजार २६१ जनाको नाम दर्ता गरी राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागमा पठाइएको छ ।
जसमध्ये हालसम्म प्राप्त १७ हजार २१६ थान परिचयपत्र (कार्ड) प्रशासनले प्राप्त गरेको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । उनका अनुसार प्राप्त परिचयपत्र (कार्ड )मध्ये पनि १० हजार ६८९ (कार्ड ) वितरण गरिएको बताएका छन् ।
बाकी ६ हजार ४९३ राष्ट्रिय परिचयपत्र (कार्ड ) प्रशासनमै अड्किएकाले बुझिलिन आग्रह गरिएको प्रशासनले जनाएको छ । परिचयपत्र बुझन आउँदा आफुले विवरण दर्ता गर्दा प्राप्त गरेको भरपाई र आफ्नो नागरीकताको संकल प्रमाणपत्रका साथै आफै उपस्थित भएर परिचयपत्र बुझिलिन प्रशासनले आग्रह गरेको छ । आफ्नो परिचयपत्र बुझिलिए राज्यबाट प्राप्त हुने सेवा सुविधाहरु प्राप्त गर्न सहज हुने पनि प्रशासनले जानकारी दिएको छ ।
प्रशासनबाट जारी सूचना
