सजानी सहकारी संस्थाको तेस्रो साधारण सभा सम्पन्न

दार्चुला । मालिकार्जुन गाउँपालिका वडा नम्बर ८ शंकरपुर पस्तिमा सजानी सहकारी संस्थाको तेस्रो साधारण सभा सम्पन्न भएको छ। सहकारीको वार्षिक गतिविधि समीक्षा तथा भावी योजना तय गर्ने उद्देश्यका साथ आयोजना गरिएको साधारण सभामा विभिन्न सरोकारवाला निकायको उपस्थिति रहेको थियो।
सभाका प्रमुख अतिथि मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष धन सिंह धामी रहनु भएको थियो। विशेष अतिथिका रूपमा जिल्ला सहकारी संघ दार्चुलाका अध्यक्ष श्याम सिंह सामन्त सहभागी हुनु भएको थियो भने सहकारी सञ्चालन समितिका अध्यक्ष किसन सिंह धामीले सभाको अध्यक्षता गर्नु भएको थियो।
कार्यक्रममा वीर सिंह धामी, अमर सिंह धामी र राजेन्द्र सिंह धामीले सहकारीका सदस्य तथा अतिथिहरूलाई स्वागत मन्तव्य राख्दै सहकारीले समुदायको आर्थिक सशक्तीकरणमा खेलेको भूमिकाबारे चर्चा गर्नुभयो। वक्ताहरूले सहकारीमार्फत बचत, ऋण तथा आयमूलक गतिविधि विस्तार गर्दै स्थानीय स्तरमा आत्मनिर्भरता बढाउन आवश्यक रहेकोमा जोड दिएका थिए।
साधारण सभामा सहकारीको वार्षिक प्रगति विवरण प्रस्तुत गरिएको थियो। प्रस्तुत विवरणअनुसार संस्थाले हालसम्म करिब २२ लाख रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको छ। सहकारीका अध्यक्ष किसन सिंह सामन्तले जानकारी दिनुहुँदै संस्थामा हाल २३ जना महिला र ८२ जना पुरुष गरी जम्मा १ सय ५ जना सदस्य आबद्ध रहेको बताउनुभयो।
सभामा सहभागी सदस्यहरूले सहकारीको पारदर्शी व्यवस्थापन, समयमै लेखापरीक्षण तथा सदस्यको क्षमता अभिवृद्धि कार्यक्रमलाई अझ प्रभावकारी बनाउन सुझाव दिएका थिए। साथै आगामी दिनमा सहकारीमार्फत कृषि, पशुपालन तथा साना उद्यममा लगानी बढाउँदै स्थानीय रोजगारी सिर्जना गर्नुपर्ने विषयमा समेत छलफल भएको थियो।
सजानी सहकारी संस्थाको तेस्रो साधारण सभाले सहकारीलाई थप सुदृढ र प्रभावकारी बनाउँदै स्थानीय आर्थिक विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

Leave A Reply

Your email address will not be published.