दार्चुलामा तीन हजारभन्दा बढीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न बाकी

दार्चुला । जिल्लाका दुई नगरपालिका र सात वटा गाउँपालिका गरी जम्मा नौ स्थानीय रहेको दार्चुलामा झण्डै तीन हजार ७९२ जना भूमिहीन, दलित, सुकुम्वासी, अव्यवस्थित बसोवासी र विगतमा काम अधुुरा तथा अपुरा रहेकालाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्न बाँकी रहेको भूमि समस्या समाधान आयोग, जिल्ला समिति दार्चुलाका अध्यक्ष लालसिंह धामीले जानकारी दिएका छन् ।

यसअघि जिल्लाको दुहुँ गाउँपालिका र शैल्यशिखर नगरपालिकाका जम्मा ७२ जना अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको उनले बताए । बाँकी रहेका भूमिहीन, दलित, सुकुम्वासी, अव्यवस्थित बसोवासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्नुपूर्व गर्नुपर्ने कामहरू भइरहेको बताईएको छ ।

अहिले स्थानीय तहहरूलाई भूमि समस्या समाधान आयोगमा प्रविष्ट भएका र हुन बाँकी निवेदनको तथ्याङ्क मागेको तथा त्यसलगत्तै उनीहरूलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिने उहाँले बताउनु भयो । आयोगले अहिले विगतमा काम अधुरा र अपुरा रहेका सेतो प्रमाणपुर्जा भएका नौगाड गाउँपालिकाका चार जना, महाकाली नगरपालिकाका तीन जना अव्यवस्थित बसोवासी र चार जना सुकुम्वासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गर्ने अन्तिम तयारी भइरहेको छ ।

महाकाली नगरपालिकामा ४३१ जना, शैल्यशिखर नगरपालिकामा ६२८ जना, लेकम गाउँपालिकामा १७३ जना, नौगाड गाउँपालिकामा ३२७ जना, मार्मा गाउँपालिकामा १६८ जना, अपि हिमाल गाउँपालिकामा ६९१ जना, मालिकार्जुन गाउँपालिकामा ९४७ जना, दुहुँ गाउँपालिकामा १६१ जना र व्यास गाउँपालिकामा २६६ जना मूमिहिन, दलित, सुकुम्वासी, अव्यवस्थितको सङ्ख्या रहेको भूमि समस्या समाधान आयोग, जिल्ला समिति दार्चुलाले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.