१० प्रतिशत नि:शुल्क सेयर नदिए मकरीगाड हाइड्रोपावर बन्द गर्ने स्थानीयको चेतावनी

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिकामा निर्माण भएको मकरीगाड हाइड्रोपावर कम्पनीले स्थानीय बासिन्दालाई नि:शुल्क सेयर उपलब्ध गराउनुपर्ने माग उठेको छ । सन् २०२३ देखि सञ्चालनमा आएको आयोजनाको नि:शुल्क सेयर माग गर्न थालेका हुन् ।

आयोजना प्रभावित वडा नम्बर ३, ४ र ५ का स्थानीयले कम्पनीले सेयर निष्कासनको तयारी गरिरहेको सन्दर्भमा स्थानीयको प्रत्यक्ष लाभ सुनिश्चित गर्न नि:शुल्क सेयर दिनुपर्ने माग गर्दै ज्ञापनपत्र बुझाएका हुन् ।

स्थानीय जनसमुदायले मकरीगाड हाइड्रोपावर कम्पनीले आयोजना निर्माणको सुरुदेखि नै स्थानीयको हकहित र वातावरणमा प्रत्यक्ष असर पारे पनि सेवा सुविधा तथा लाभ बाँडफाँटमा बेवास्ता गरेको आरोप लगाएका छन् । उनीहरूले हाल कम्पनीले सेयर जारी गर्ने तयारी गरेको जानकारी पाएपछि स्थानीय गरिब तथा आर्थिक रूपमा कमजोर समुदायले समेत सेयर पाउने गरी व्यवस्था गर्न माग गरेका छन् ।

स्थानीयको तर्फबाट संयोजक देवेन्द्र सिंह रोकायाको नेतृत्वमा पुस २५ गते कम्पनीलाई ज्ञापनपत्र बुझाइएको छ । उक्त ज्ञापनपत्रमा स्थानीयका लागि छुट्याइएको १० प्रतिशत सेयरलाई आधार मानी त्यसको कम्तीमा ८० प्रतिशत सेयर अपिहिमाल गाउँपालिका बासिन्दालाई उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ । साथै, स्थानीयलाई नि:शुल्क सेयर कित्ता सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारिएको छ ।

त्यस्तै, आयोजनाबाट प्रभावित क्षेत्रमा सडकमा पक्की पर्खाल तथा आवश्यक स्थानमा तटबन्ध निर्माण गर्नुपर्ने, आयोजनाका कारण सुक्न पुगेका पानीका मुहानमा खानेपानी योजना सञ्चालन गर्नुपर्ने तथा विस्थापित घट्टहरूको पुन:निर्माण वा नयाँ घट्ट निर्माण गरिदिनुपर्ने माग पनि राखिएको छ । प्रभावित क्षेत्रका विद्यालय भवन निर्माण, आधारभूत स्वास्थ्य संस्थामा आवश्यक उपकरण उपलब्ध गराउनुपर्ने र अन्य स्थानीय पूर्वाधार विकासमा कम्पनीले जिम्मेवारी लिनुपर्ने स्थानीयको माग छ ।

यसैबीच, स्थानीयले अपिहिमाल गाउँपालिकालाई पनि ज्ञापनपत्र बुझाउँदै मकरीगाड हाइड्रोपावर कम्पनीसँग आफ्ना माग सम्बोधन गराउन पहल गरिदिन अनुरोध गरेका छन् । गाउँपालिकालाई बुझाइएको ज्ञापनपत्रमा स्थानीयको माग समयमै सम्बोधन नभए थप संघर्षका कार्यक्रम अघि बढाउनु जनाएका छन् । ज्ञापनपत्रमा तीन दिनभित्र माग सम्बोधन नभए हाइड्रोपावर प्लान्ट बन्द गर्ने लगायतका कडा संघर्षका कार्यक्रम घोषणा गरिने चेतावनीसमेत दिइएको छ ।

Leave A Reply

Your email address will not be published.