दार्चुलाको शैल्यशिखर नगरपालिका–६ मा रास्वपाको वडा कमिटी गठन

दार्चुला । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ६ मा वडा कमिटी गठन गरेको छ। संगठन सुदृढीकरण तथा तल्लो तहसम्म पार्टीको पहुँच विस्तार गर्ने उद्देश्यका साथ वडा कमिटी गठन गरिएको हो।
नवगठित वडा कमिटीको सभापतिमा मोहन सिंह धामी चयन हुनुभएको छ। सभापति धामीको नेतृत्वमा ११ सदस्यीय वडा कमिटी गठन गरिएको जिल्ला सभापति राजेश सिंह सामन्तले जानकारी दिनुभयो। वडा कमिटीको सचिवमा करन सिंह धामी (टार्जन)चयन हुनुभएको छ, भने सदस्यमा अन्तराम खाती सहित ११ सदस्यीय कमिटी  गठन भएको छ।
जिल्ला सभापति सामन्तका अनुसार रास्वपाले दार्चुला जिल्लामा पछिल्लो समय तीव्र गतिमा संगठन विस्तार गरिरहेको छ। “पार्टीप्रति आम नागरिकको आकर्षण बढ्दै गएको छ। त्यसकै परिणामस्वरूप वडास्तरसम्म संगठन विस्तारलाई प्राथमिकता दिइएको हो,” उहाँले भन्नुभयो। उहाँका अनुसार शैल्यशिखर नगरपालिका–६ मा गठन गरिएको वडा कमिटीले स्थानीय स्तरमा पार्टीको गतिविधि प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
रास्वपाले सुशासन, पारदर्शिता र जनउत्तरदायी राजनीतिलाई मुख्य एजेन्डा बनाउँदै आएको छ। ती एजेन्डालाई गाउँ–टोलसम्म पुर्‍याउने उद्देश्यले वडा कमिटी गठनलाई निरन्तरता दिइएको पार्टीले जनाएको छ। स्थानीय समस्याको पहिचान, समाधानका लागि दबाब सिर्जना गर्ने र जनताको आवाजलाई पार्टीमार्फत अघि बढाउने काम वडा कमिटीले गर्ने बताइएको छ।
जिल्ला सभापति सामन्तले दिएको जानकारीअनुसार हालसम्म दार्चुला जिल्लामा रास्वपाका ५ हजार ३ सय २३ जना सदस्य रहेका छन्। यो संख्या पछिल्लो समय उल्लेख्य रूपमा बढेको उहाँको दाबी छ। “कम समयमा यति धेरै सदस्य जोडिनु भनेको जनतामा नयाँ राजनीतिक विकल्पप्रति भरोसा बढ्दै गएको संकेत हो,” उहाँले भन्नुभयो।
स्थानीय तहमा संगठन बलियो बन्दै जाँदा आगामी निर्वाचन तथा राजनीतिक गतिविधिमा रास्वपाको भूमिका अझ प्रभावकारी हुने अपेक्षा गरिएको छ। पार्टीले सबै स्थानीय तह र वडामा संगठन विस्तार गर्दै जनतासँग प्रत्यक्ष सम्पर्क बढाउने योजना अघि सारेको छ। त्यसका लागि प्रशिक्षण, सदस्यता अभियान तथा जनसरोकारका कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ।
वडा कमिटी गठनपछि स्थानीय नेता तथा कार्यकर्ताहरूले संगठनलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। नवगठित कमिटीले पार्टीको नीति, सिद्धान्त र कार्यक्रमलाई जनस्तरसम्म पुर्‍याउँदै दार्चुलाको राजनीतिक परिवेशमा सकारात्मक परिवर्तन ल्याउने विश्वास लिइएको छ।
रास्वपाले आगामी दिनमा पनि दार्चुला जिल्लाका अन्य वडाहरूमा वडा कमिटी गठनलाई तीव्रता दिने जनाएको छ।

Leave A Reply

Your email address will not be published.