मालिकार्जुन धामको शिवपुराण महायज्ञका लागि काठमाडौंमा दार्चुलावासीको अन्तरक्रिया

दार्चुला । दार्चुलामा रहेको मालिकार्जुन राष्ट्रिय धाममा २०८२ माघ २२ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन हुने शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सव सफल बनाउने उद्देश्यले दार्चुला जिल्ला घर भई काठमाडौंमा बसोबास गर्दै आएका धार्मिक आस्थावान दार्चुलावासीहरूसँग अन्तरक्रिया तथा चियापान कार्यक्रम सम्पन्न भएको छ।
काठमाडौंको शान्तिनगरस्थित कोरिएण्डर गार्डेनमा आज दिउँसो आयोजित कार्यक्रममा महायज्ञको धार्मिक, सांस्कृतिक र सामाजिक महत्वबारे विस्तृत छलफल गरिएको थियो। कार्यक्रममा शिवपुराण महायज्ञलाई भव्य, मर्यादित र सफल बनाउन काठमाडौंवासी दार्चुलावासीको भूमिका, सहयोग र सहभागिताका विषयमा सहभागीहरूले आ–आफ्ना धारणा राखेका थिए।
अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडु, नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री गणेश सिंह ठगुन्नालगायत विभिन्न राजनीतिक दलका नेता, सामाजिक अभियन्ता, बुद्धिजीवी, धार्मिक व्यक्तित्व तथा दार्चुलावासीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडुले शैल्य मल्लिकार्जुन राष्ट्रिय धाम केवल दार्चुला मात्र नभई सिंगो सुदूरपश्चिम र देशकै धार्मिक पहिचान बोकेको धरोहर भएको बताउनुभयो। उहाँले शिवपुराण महायज्ञले धार्मिक आस्था अभिवृद्धि गर्नुका साथै स्थानीय पर्यटन, संस्कृति संरक्षण र सामाजिक एकतामा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।
त्यस्तै पूर्वमन्त्री गणेश सिंह ठगुन्नाले धार्मिक महायज्ञजस्ता कार्यक्रमले समाजमा सकारात्मक ऊर्जा फैलाउने र नयाँ पुस्तालाई संस्कारसँग जोड्ने काम गर्ने बताउनुभयो। उहाँले महायज्ञ सफल बनाउन सबै पक्षले आ–आफ्नो स्थानबाट सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा आयोजक समितिले महायज्ञका उद्देश्य, कार्यक्रम तालिका, व्यवस्थापन पक्ष र अपेक्षित सहयोगबारे जानकारी गराएको थियो। सहभागीहरूले आर्थिक, भौतिक तथा प्रचार–प्रसारमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
महायज्ञ अवधिभर शिवपुराण वाचन, धार्मिक प्रवचन, भजन–कीर्तन तथा विविध धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ।
अन्तरक्रिया तथा चियापान कार्यक्रमले काठमाडौंमा रहेका दार्चुलावासीलाई एकताबद्ध गर्दै महायज्ञलाई ऐतिहासिक र सफल बनाउने दिशामा महत्वपूर्ण सन्देश दिएको सहभागीहरूको भनाइ छ।

Leave A Reply

Your email address will not be published.