काठमाडौं । नेकपा एमाले कैलाली क्षेत्र नं. ५ का उम्मेदवार यज्ञराज ढुंगानाले आफ्नो प्रतिवद्धता–पत्र सार्वजनिक गर्नुभएको छ। शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमार्फत उहाँले आगामी कार्यकालका प्राथमिकता, योजना तथा विकासका दृष्टिकोण सार्वजनिक गर्नुभएको हो।
प्रतिवद्धता–पत्रमा सूचना प्रविधि तथा डिजिटल विकासलाई उच्च प्राथमिकतामा राख्दै कैलाली–५ लाई आधुनिक प्रविधिमैत्री समाजका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। यसअन्तर्गत कैलाली क्षेत्र नं. ५ का आम नागरिकलाई प्रविधिको पहुँचमा पु¥याउन धनगढी उपमहानगरपालिका–१९ सहित कैलारी गाउँपालिकाका ६ र ९ गरी २१ वडामा दुरुस्त र भरपर्दो इन्टरनेट सेवा विस्तार गर्न पहल गर्ने उल्लेख गरिएको छ।
सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी उपमहानगरपालिकालाई भविष्यमा महानगरपालिकाका रूपमा उन्नत गर्दै सुविधा सम्पन्न डिजिटल महानगर बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ। साथै विद्यालय, स्वास्थ्य संस्था तथा सरकारी कार्यालयहरूमा निःशुल्क तथा सहुलियत दरको वाइफाइ सेवा विस्तार गर्ने, युवा, महिला र विद्यार्थी लक्षित डिजिटल साक्षरता तालिम सञ्चालन गर्ने योजना समावेश गरिएको छ।
शिक्षा र स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारलाई विशेष प्राथमिकता दिँदै कैलाली क्षेत्रका सबै विद्यालयमा डिजिटल कक्षा सञ्चालन र प्रविधियुक्त गुणस्तरीय शिक्षाका लागि आवश्यक नीतिगत व्यवस्थापनमा अग्रसरता लिने बताइएको छ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य सेवा विस्तार गर्ने प्रतिबद्धतासमेत प्रतिवद्धता–पत्रमा समेटिएको छ।
स्वास्थ्यतर्फ नेपाल सरकारले लागू गरेको स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने, निजी अस्पतालको विस्तारमा सहजीकरण गर्ने तथा सुदूरपश्चिम प्रदेश सरकार मातहत रहेको सेती प्रादेशिक अस्पताललाई संघीय सरकार मातहत ल्याई स्रोतसाधन उन्नति, विशेषज्ञ जनशक्ति र गुणस्तरीय सेवा विस्तारमा विशेष भूमिका खेल्ने उम्मेदवार ढुंगानाले बताउनुभयो।
त्यस्तै गेटामा सञ्चालनमा रहेको दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा एमबिबिएस अध्ययन शीघ्र सञ्चालन गर्ने र ६ सय शैयाको अस्पताल स्थापना गर्ने योजनालाई कार्यान्वयनमा लैजान पहल गर्ने उल्लेख गरिएको छ। सेती प्रादेशिक अस्पतालमा स्टाफ नर्स, एचए तथा फार्मेसी जनशक्तिको व्यवस्थापनमा समेत ध्यान दिने बताइएको छ।
प्रतिवद्धता–पत्रमा सुशासन र पारदर्शिता, युवा लक्षित सीप विकास र रोजगारी सिर्जना, कृषि तथा स्थानीय अर्थतन्त्र सुदृढीकरण, पूर्वाधार तथा शहरी विकास, भूमि अधिकार र सामाजिक न्याय, साथै महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको संरक्षण र सशक्तीकरणलाई मुख्य आधारका रूपमा समेटिएको छ। उम्मेदवार ढुंगानाले समावेशी विकास र जनमुखी शासन प्रणालीमार्फत कैलाली क्षेत्र नं. ५ लाई समृद्ध, आत्मनिर्भर र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।