आजदेखि घरदैलो तथा चुनाव प्रचारप्रसार गर्न पाइने: आचारसंहिता पालना गर्न राजनीतिक दलहरूलाई निर्देशन

यही फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा भाग लिने उम्मेदवारहरूले आज सोमवारदेखि भोट माग्न घरदैलो तथा चुनाव प्रचारप्रसारमा लाग्न पाउने भएका छन् ।

निर्वाचन आयोगले उम्मेदवारहरूलाई चुनावी प्रचारप्रसारका लागि झण्डा बोकेर भोट माग्न जान आइतबारसम्म रोक लगाएको थियो । उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि मतदान हुने दिनभन्दा १८ दिन अघिदेखि मात्र चुनावी प्रचारप्रसारका काम गर्न पाइने निर्वाचन आचारसंहितामा उल्लेख गरिएको छ ।

तैपनि उम्मेदवार स–साना समूह बनाएर भोट माग्दै आएकोमा आजदेखि माइकिङ गरी उम्मेदवारको चुनाव चिह्न, पार्टीको झण्डा बोकेर भोट माग्न जान पाउने छन् । त्यसै गरी आजदेखि सभा, जुलस तथा सञ्चार माध्यममा प्रचारप्रसार गर्न पाउने आयोगले जनाएको छ । यसैबीच आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा पालना गर्नुपर्ने आचारसंहिता कडाइका साथ पालना गर्न राजनीतिक दलहरूलाई निर्देशन दिएको छ ।

आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा कसैलाई बाधा पुर्‍याउने, डर त्रास देखाउने, कुनै किसिमले लोभ लालच देखाउने वा आर्थिक प्रलोभन देखाउने, धर्म भकाउने वा प्रतिज्ञा गराउने जस्ता काम गरी प्रभावमा नगर्न निर्देशन दिएको छ ।

त्यसै गरी सार्वजनिक भोजको आयोजना गर्न वा त्यस्तो प्रयोजनका लागि नगद वा जिन्सी लिन वा लिन मन्जुर र गर्न वा सार्वजनिक भोजमा सहभागी हुन नहुने पनि आयोगले भनेको छ । निर्वाचनको अवधिभित्र कुनै मतदातालाई निजको मतदानको अधिकार प्रयोग गर्न वा नगर्नका लागि वा मतदानको अधिकार प्रयोग गरे वा नगरेबापत उपहार, पुरस्कार, इनाम, दानदातव्य र बकसको रूपमा नगद वा जिन्सी दिन वा दिन मन्जुर नगर्न पनि निर्देशनमा भनिएको छ ।

निर्वाचन प्रचारप्रसार गर्दा कुनै धर्म, जात जाति, वर्ग, क्षेत्र वा सम्प्रदायबीचको सुसम्बन्धमा खलल पुर्‍याउने वा हिंसात्मक कार्य गर्न दुरुत्साहन गर्ने वा भाषा, धर्म, समुदाय वा क्षेत्रीयताको आधारमा घृणा वा द्वेष उत्पन्न गर्ने कार्य गर्न गराउन नहुने पनि भनेको छ ।

पचहत्तर ग्रामसम्मको कागजमा तीन सय वर्ग इन्चसम्म क्षेत्रफल भएको आकारको एउटै रंग र मुद्रकको नामसहितको पर्चा वितरण गर्नबाहेक कुनै प्रकारको पोस्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले छाप्न वा छपाउन वा प्रयोग गर्न वा गराउन नहुने पनि आयोगले भनेको छ । निर्वाचन प्रचारप्रसारका क्रममा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहको स्वामित्व भएको संस्था वा कुनै शिक्षण संस्था वा गैरसरकारी संस्थाको सवारीसाधन प्रयोग गर्न वा गराउन, कुनै सवारीसाधनको प्रयोग गर्न पाइने छैन । निर्वाचन प्रचारप्रसारको सिलसिलामा सरकारी कर्मचारी, सुरक्षाकर्मी वा सार्वजनिक सम्पत्तिको प्रयोग गर्न वा गराउन नहुने पनि भनिएको छ ।

जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने दल वा व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिह्न वा झण्डा अंकित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न पाइने छैन । जुलुस, आमसभा, कोणसभा, भेला वा प्रचारप्रसारका कार्यक्रम गर्दा बिहान सात बजेदेखि साँझ सात बजेसम्म मात्र गर्न पाइने छ ।

दलको झण्डाको वा दल वा उम्मेदवारको चुनाव चिह्नको तोरण बनाई सार्वजनिक प्रदर्शन गर्न वा गराउनु हँुदैन । उम्मेदवार वा दलले आफ्नो कार्यालयबाहेकका स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिह्न, कुनै किसिमको डिजिटल बोर्ड, फ्लेक्स वा ग्लुसाइन बोर्ड राख्न तथा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्रीहरू प्रदर्शन वा प्रसारण गर्न नहुने पनि निर्देशनमा भनिएको छ ।

अनलाइन वेबपेज, टिभी स्क्रोलिङ, सपिङ मलमा डिस्प्ले, कल सेन्टर सञ्चालन, बैंकका एटीएम काउन्टरमा सन्देश वा सडक नाटक आदि माध्यमबाट दलको वा उम्मेदवारको बारेमा कुनै प्रचारप्रसार गर्न गराउनु हुँदैन । कुनै किसिमको भित्तेलेखन गर्न वा गराउन, चारपांग्रा गाडी, मोटरसाइकल, साइकल, बयलगाडा, रिक्सा, टाँगा, ठेलागाडालगायत सबै प्रकारका सवारीसाधन प्रयोग गरी र्‍याली आयोजना गर्न वा प्रचारप्रसार गराउन नहुने पनि भनिएको छ ।

 

Leave A Reply

Your email address will not be published.