दार्चुला । यही फागुन२१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षार्थ भर्ना गरिएका निर्वाचन प्रहरीलाई चुनावमा खटाइएको छ । अब चुनाव आउन १६ दिन बाँकी छ । जेन–जी आन्दोलनपछि हुन लागेको निर्वाचनलाई सुरक्षित र मर्यादित बनाउन सरकारले निर्वाचन प्रहरी भर्ना गरेको थियो ।
प्रतिनिधिसभाको प्रत्यक्षतर्फ एक निर्वाचन क्षेत्र रहेको दार्चुलामा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी जम्मा ९३० जना निर्वाचन प्रहरी मतदान केन्द्र र मतदानस्थलको सुरक्षार्थ खटिएका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी गौरव महतका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी दार्चुलामा ९३० जना निर्वाचन प्रहरी भर्ना भएको बताए ।
उनीहरूलाई १० दिनको तालिम पछि प्रहरी युनिट मातहत रहने गरी खटाइएको उनले बताए ।उनीहरूले प्रहरीको मातहतमा रहेर निर्वाचन पूर्वका आवश्यक तयारीमा सघाउने छन् भने मतदानका दिन पहिलो सुरक्षा घेरामा खटिने छन् ।
निर्वाचन प्रहरीको मूल लक्ष्य निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष, पारदर्शी र भयमुक्त बनाउनु हो । निर्वाचन क्षेत्रमा ५ सयभन्दा बढी प्रहरी जनशक्ति खटाइनेछ भने आवश्यकताअनुसार सशस्त्र प्रहरी र नेपाली सेना निर्वाचन सुरक्षार्थ तैनाथ हुनेछ ।
निर्वाचन सुरक्षार्थ सशस्त्र प्रहरी र नेपाली सेना यसअघि नै सम्बन्धित निर्वाचन क्षेत्रमा तैनाथ भइसकेको सुरक्षा समितिले जनाएको छ । निर्वाचन सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, निर्वाचन अधिकृत, कर्मचारीहरू आवश्यक सामग्रीसहित यहि फागुन १८ गते सम्बन्धित मतदानकेन्द्रमा पुग्नेछन् । दार्चुलामा हालसम्म निर्वाचनलाई असर गर्ने कुनै खालका तत्त्व वा समूह हालसम्म देखा नपरेकाले सुरक्षा चुनौती छैन ।
‘जिल्ला सुरक्षा समितिले दार्चुलाका दुवै निर्वाचन क्षेत्रका मतदान केन्द्रहरूको स्थलगत अनुगमन गरिसकेको छ । चुनावका समयमा कुनै अवाच्छित गतिविधि भए तत्काल एक्सन लिने गरी सुरक्षा योजना बनाइएको छ ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित बनाउन सुरक्षा समितिले कुनै कसरत बाँकी नराख्ने प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । उनले निर्वाचन अवधिभर जिल्ला कारागार कार्यालयको सुरक्षा जिम्मा नेपाली सेनालाई दिइएको पनि बताए ।