संघीयता र गणतन्त्रसम्मको यात्राको जननी ७ फागुनको क्रान्ति हो: गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले २०४६ सालको परिवर्तन र २०६२–६३ सालको आन्दोलनमार्फत संघीयता र गणतन्त्रसम्मको यात्राको जननी ७ फागुन २००७ सालको क्रान्ति नै भएको बताएका छन् ।

प्रजातन्त्र दिवसको शुभकामना सन्देश जारी गर्दै उनले कांग्रेसको नेतृत्वमा नेपालको आधुनिक इतिहास प्रारम्भ भएको गौरवमय दिन भएको उल्लेख गरेका छन् ।

‘२६ कात्तिक २००७ देखि प्रारम्भ भएको ऐतिहासिक जनक्रान्तिले केवल राजनीतिक परिवर्तन मात्र होइन, आर्थिक, सामाजिक, सांस्कृतिक र शैक्षिकलगायत हरेक क्षेत्रमा यसले अग्रगामी मार्ग प्रशस्त गरेको थियो,’ सभापति थापाले भने,‘मध्ययुगीन सामन्ती संरचनाबाट आधुनिक लोकतान्त्रिक यात्रातर्फ नेपालले साहसी कदम चाल्यो । प्रजातन्त्रसँगै सुदृढ राष्ट्रियता, नागरिक अधिकार र जन–सहभागिताको बलियो आधार पनि यही दिनले निर्माण गर्यो ।’

थापाले राष्ट्रिय स्वाधिनता र नागरिक अधिकार लागि पटक–पटक भएका क्रान्ति, संघर्ष र आन्दोलनमा अनेकौ सपूतहरूले लोकतन्त्रको वेदीमा आफूलाई उत्सर्ग गरेको बताए । उनले नेपालको संविधानको संरक्षण र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थालाई संस्थागत स्थायित्व कायम गर्दै नेपाललाई आर्थिक रूपले समृद्ध मुलुकमा रुपान्तरण गर्न सके मात्र लोकतान्त्रिक आन्दोलनमा बलिदानी दिने सहिदहरुप्रति सच्चा सम्मान प्रकट हुने धारणा राखे ।

Leave A Reply

Your email address will not be published.