दार्चुला । आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरीलाई अभ्यस्त बनाउन दार्चुलामा ‘नमुना मतदान’ अभ्यास गराइएको छ । निर्वाचनमा खटिने निर्वाचन प्रहरीहरुलाई मतदानमा सहभागीहरुलाई गर्ने व्यवहार, सुरक्षामा खटिँदा जान्नुपर्ने विषयलाई प्रभावकारी बनाउन नमुना मतदान गराइएको हो ।
मतदान केन्द्रको सुरक्षा व्यवस्था, त्यहाँ आइपर्न सक्ने सम्भावित जोखिम, अन्य सुरक्षा निकायसँगको समन्वयमा गर्ने कार्य लगायतका विषयमा व्यवहारिक अभ्यास गराइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी गौरव महतले जानकारी दिए ।
यो नमुना अभ्यासले सम्बन्धित मतदान केन्द्रमा खटिँने नेपाल प्रहरी, सशस्त्र प्रहरी ,नेपाली सेना र निर्वाचन प्रहरीलाई सहज हुने उनले बताए । ‘मतदान केन्द्रमा आइपर्ने विभिन्न समस्याहरुलाई व्यवहारिक ज्ञान दिएपछि सबैले जिम्मेवारी पूर्वक काम गर्न सहज हुन्छ, त्यसैको लागि नमुना अभ्यास पनि गराइएको हो ।” उनले भने ।
नमुना मतदानमा सहभागी निर्वाचन प्रहरीलाई महिला/पुरुष, ज्येष्ठ नागरिक, अपांगता भएका, अशक्तलाई गर्नु पर्ने व्यवहारका विषयमा व्यवहारिक ज्ञान पनि सिकाइएको छ । निर्वाचनको समयमा हुने नारावाजी, जवरजस्ती मदतान केन्द्र प्रवेश, हुलहुज्जत नियन्त्रणमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको भुमिका पनि नमुनाको क्रममा देखाइएको थियो ।

