घरदैलो अभियानमा व्यस्त एमाले उम्मेदवार ठगुन्ना

दार्चुला । प्रतिनिधि सभा निर्वाचनका लागि ११ दिन बाँकी रहँदा दार्चुलामा चुनावी गतिविधि तीव्र बनेको छ । उम्मेदवार आ–आफ्नो पक्षमा मत माग्दै मतदाताको घरघरमा पुग्न थालेसँगै चुनावी माहोल तातिरहेको छ ।

जिल्लाभित्रका ६१ वटै वडामा उम्मेदवारहरुले घरदैलो तथा कोणसभाको माध्यमबाट मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका छन्। निर्वाचन नजिकिँदै जाँदा उम्मेदवारहरूको व्यस्तता अझ बढिरहेको छ।आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि नेकपा एमालेका नेता गणेश सिह ठगुन्ना नेतृत्वको मुल टोलीअहिले ब्याँस गाउँपालिका पुगेको छ ।

नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य निर्वाचन तर्फ उम्मेदवार रहेका गणेश सिह ठगुन्नाले घरदैलो अभियानलाई तीव्रता दिँदै मतदातासँग प्रत्यक्ष संवादमा जुटेको उनको सचिवालयले जानकारी दिएको छ । उनले जिल्लाभरी विभिन्न वडाबस्ती टोल गाउँ—गाउँमा पुगेर मतदातासँग भेटघाट गर्नमा अहिले व्यस्त रहेका छन् । ठगुन्नाको पक्षमा समर्थन पछिल्लो समय बढ्न थालेको छ ।
जिल्लाको महाकाली नगरपालिका वडा –५ किम्तडीमा जन्मी हुर्किएको, स्थायी रूपमा बसोबास गर्ने र यहाँको सामाजिक, शैक्षिक तथा आर्थिक वास्तविकतालाई नजिकबाट बुझ्ने ठगुन्नाको नीति, योजना तथा युवा क्षमता विकास र संस्थागत मजबुतीप्रति रुचिका कारण मतदातामा उहाँको लोकप्रियता उच्च रहेको देखिन्छ । मतदाताले दार्चुलामा भावनात्मक भाषण भन्दा नीति, योजना र इमान्दार व्यक्तित्व भएको उम्मेदवारको आवश्यकतालाई ध्यानमा राख्दै ठगुन्नालाई समर्थन गर्ने धारणा राखेको उल्लेख गरिएको छ।

२०७९ सालको निर्वाचनमा खसेको समानुपातिक मतलाई हेर्दा दार्चुलामा एमालेको अवस्था बलियो देखिएको छ । तर, यस पटकको अवस्था पहिलेजस्तो नरहेको राजनीतिक विश्लेषकहरुले बताएका छन् । रास्वपा पार्टी लगायत अन्य नयाँ राजनीतिक दलले जिल्लामा पछिल्लो समय सङ्गठन विस्तार गरेका छन् ।

मतदाताले नयाँ विकल्पको खोजी गर्दा ठूला राजनीतिक दलको भोटमा कटौती आउने देखिएको छ । यद्यपि, यस वर्षको निर्वाचनमा पुरानै तीन राजनीतिक दल कांग्रेस, एमाले नेकपा र रास्वपाका उम्मेदवारबीच प्रतिस्पर्धा हुने  देखिएको छ ।

Leave A Reply

Your email address will not be published.