दार्चुला — आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले मार्मा गाउँपालिकाको लटिनाथमा बृहत आमसभा सम्पन्न गरेको छ। कांग्रेस मार्मा गाउँपालिकाका सभापति धन्नजय जोशीका अनुसार अगुवा नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थितिमा आमसभा सम्पन्न भएको हो।
आमसभालाई सम्बोधन गर्दै कांग्रेस नेता शम्भु जोशीले नेपाली कांग्रेस नीतिगत र नेतृत्वगत परिवर्तनसहित नयाँ ढंगले अघि बढिरहेको बताए। उनले परिवर्तनको भावना आत्मसात गरेको कांग्रेसप्रति जनताको भरोसा बढ्दै गएको उल्लेख गर्दै मार्माले यसपटक सच्चा परिवर्तन रोज्ने विश्वास व्यक्त गरे। योग्य र सक्षम उम्मेदवारका रूपमा धर्मानन्द जोशीलाई अघि सारिएको उल्लेख गर्दै उनले रुख चिन्हमा मतदान गर्न आग्रह गरे।
जिल्ला सचिव पुलेन्द्र बहादुर कार्कीले वर्तमान निर्वाचन सामान्य नभई देशमा शान्ति, स्थायित्व, सुशासन तथा संविधानको रक्षाका लागि महत्वपूर्ण रहेको बताए। उनले देशलाई सक्षम नेतृत्व आवश्यक रहेको उल्लेख गर्दै गगन थापा संघर्ष, त्याग र लोकतन्त्रप्रतिको प्रतिबद्धताबाट स्थापित नेता भएको बताए। सबै पुस्तालाई जोड्न सक्ने क्षमता भएका थापालाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्दै उनले प्रत्यक्ष र समानुपातिक दुवै मतपत्रमा रुख चिन्हमा मतदान गर्न आह्वान गर्नुभयो।
कार्यक्रममा प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार धर्मानन्द जोशीले आफ्नो उम्मेदवारी पदका लागि मात्र नभई दार्चुलाका ग्रामीण जनताको आवाज संसदमा पुर्याउने उद्देश्यले रहेको बताए। शान्ति, सुरक्षा, सुशासन र मानवअधिकारका क्षेत्रमा काम गरेको अनुभव रहेको उल्लेख गर्दै उनले भ्रष्टाचारविरुद्ध निरन्तर लड्ने प्रतिबद्धता जनाए। जनताको घरदैलोमा पुग्दा अपार माया र समर्थन पाएको भन्दै उनले निर्वाचन जित्नेमा आफू विश्वस्त रहेको बताए। जितपछि सधैं जनताको सेवकका रूपमा काम गर्ने र मतदाताको शिर झुक्न नदिने प्रतिबद्धता उनले व्यक्त गरेका थिए।
आमसभामा समानुपातिक उम्मेदवार करबिर बहादुर कार्की, प्रदेश कार्यसमिति सदस्य मदन गिरी, जिल्ला उपसभापति मानसिंह बुढाथोकी, सचिवद्वय पुलेन्द्र बहादुर कार्की र माधवराज भट्ट, महासमिति सदस्य हरक बिष्ट, शम्भु प्रसाद जोशी, गणेशराज भट्ट, पदमराज पन्त, महाधिवेशन प्रतिनिधि नरेन्द्र सिंह धामी, पूर्व उपसभापति अमरसिंह धामी लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो।