दार्चुला। जिल्ला प्रहरी कार्यालय दार्चुलाले जिल्लामा क्रियाशील सञ्चारकर्मीहरूसँग प्रतिनिधि सभा निर्वाचन सम्पन्न गराउन अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
यहि फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न गराउने उद्देश्यले जिल्लाका सञ्चारकर्मीहरु बीच प्रहरी कार्यालयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।
निर्वाचनको तयारी, हालसम्म भएका कामबारे जानकारी दिन र सञ्चारकर्मीहरुले निर्वाचन अघि, निर्वाचनका बेला र पछि निर्वाह गर्नु पर्ने भूमिकाबारे सञ्चारकर्मीसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख डिएसपी गौरव महतले जानकारी दिए ।
अन्तरक्रिया कार्यक्रममा निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्न सञ्चारकर्मीले तथ्य र निष्पक्ष सूचना तथा समाचार प्रवाहमा ध्यान दिन आग्रह गरिएको उनले बताए । उनले भने, निर्वाचनका बेला दिने हरेक सूचनाको महत्व हुन्छ ।
भ्रामक सूचनाले निर्वाचन समेत भाडिन सक्छ त्यसैले हरेक सञ्चारगृह तथा सञ्चारकर्मीले तथ्यपरक रूपमा मात्रै सूचना प्रवाह गर्न आग्रह गरेका छन् ।
यस्तै निर्वाचन भएरहित रुपमा सम्पन्न गराउन सुरक्षा समिति पुर्णरुपमा तयार रहेको पनि उनले बताए ।
कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन आफूहरू जिम्मेवार ढंगले भूमिका निर्वाह गर्ने बताएका छन् । अन्तरक्रिया कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहाल,प्रहरी प्रमुख डिएसपी गौरव महत, प्रहरी निरीक्षक हेमराज भट्टको उपस्थिति रहेको थियो ।
तस्बिरमा हेर्नुहोस्
