दार्चुला । जिल्ला प्रशासन कार्यालय दार्चुलाले फागुन २० गते राति १२:०० बजेदेखि मतदान सम्पन्न नहुँदासम्म सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा रोक लगाउने भएको छ । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गदैँ फागुन १५ गते बसेको जिल्ला सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
मतदानको दिन अत्यावश्यक सेवाका सवारीसाधन (एम्बुलेन्स, दमकल, शववाहन, रक्तसञ्चार सेवाका साधन, सुरक्षा निकायका सवारीसाधन, विद्युत् मर्मत, खानेपानी तथा ढल मर्मत, दूरसञ्चार सेवा मर्मतका लागि प्रयोग हुने) भने सञ्चालन हुनेछन् । कूटनीतिक नियोगका सवारीसाधन र निर्वाचनको दिनमा प्रयोग गर्नेगरी पास प्राप्त गरेका सवारीसाधन पनि चल्नेछन् ।
अन्य सार्वजनिक तथा निजी सवारीसाधन भने फागुन २० गते राति १२:०० बजेदेखि फागुन २१ गते साँझ मतदान सम्पन्न नभएसम्मका लागि सञ्चालनमा रोक लगाउने निर्णय गरेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिएका छन् ।
