दार्चुलामा निर्वाचन आचारसंहिता उल्लङ्घनका ९ वटा उजुरी

दार्चुला । आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै जाँदा दार्चुलामा निर्वाचन आचारसंहिता उल्लङ्घन सम्बन्धीका मौखिक उजुरीहरू बढेका छन् ।

निर्वाचन नजिकिँदै जाँदा प्रचारप्रसारका गतिविधि तीव्र बन्दै गएको अवस्थामा आचारसंहिताको पालना गराउन प्रशासनले निगरानी बढाएको जनाएको छ । जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनमा निर्वाचन आचारसंहिता उल्लङ्घन सम्बन्धीका ९ उजुरी परेका छन् ।

जिल्लामा शुक्रबारसम्म आचारसंहिता उल्लंघनका ९ वटा मौखिक उजुरी परेको निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तथा सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहालले जानकारी दिए ।
आचारसंहिता उल्लघंन गरेको भन्दै ४४ जनालाई मौखिक स्पष्टीकरण सोधिएको उनको भनाइ छ ।

आचारसंहिता उल्लङ्घन गर्ने पार्टी तथा उम्मेदवारको नाम भने खुलाइएको छैन । कार्यालयले सबै दल तथा उम्मेदवारलाई आचारसंहिता पूर्ण रूपमा पालना गर्न आग्रहसमेत गरेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनको एकमात्र क्षेत्र रहेको यस जिल्लामा ९२ हजार ९४८जना मतदाता रहेका छन् ।

जिल्लामा निर्वाचनको लागि ११ वटा राजनीतिक दलका उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।मुख्य निर्वाचन अधिकृत भुवन गिरीका अनुसार जिल्लामा ८५७ जना कर्मचारी निर्वाचनमा खटाइएको छ । निर्वाचन अधिकृत र सहायक निर्वाचन अधिकृतलाई तालिम पश्चात् नियुक्ति दिएर पठाउने काम भइरहेको उनले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.