दार्चुला । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत दार्चुलामा २ हजारभन्दा बढी मत बदर भएको छ । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको जिल्लामा प्रत्यक्षतर्फ २ हजार ४७ मत बदर भएको निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।
जिल्ला निर्वाचन कार्यालयले सबै वडामा फागुन ३ गते देखि १८ गतेसम्म स्वयंसेवक परिचालन गरी मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरे पनि मत बदर हुने क्रम नरोकिएको आयोगका सूचना अधिकारी चित्रप्रकाश जोशीले जानकारी दिए ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार प्रतिनिधिसभातर्फ ४९ हजार ९३७ मत खसेको थियो ।
जसमध्ये २ हजार४७ मत बदर हुँदा ४७ हजार ८९० मत मात्रै सदर भएको छ । मतपत्रमा एकभन्दा बढी चिह्न लगाउने, गलत स्थानमा छाप लगाउने तथा खाली मतपत्र हाल्ने जस्ता कारणले मत बदर भएको जोशीको भनाइ छ ।