मालिकार्जुन शिवपुराण महायज्ञमा सामन्तद्वारा ५ लाख ५५ हजार ५ सय ५५ सहयोग

दार्चुला — शैल्य मालिकार्जुन राष्ट्रिय धाममा २०८२ साल माघ २२ गतेदेखि फागुन ३ गतेसम्म सञ्चालन भएको शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सवमा सबैभन्दा ठूलो दान जनक सिंह सामन्तले गर्नुभएको छ।
नेपाली कांग्रेस मालिकार्जुन गाउँपालिका सभापति किसन सिंह सामन्तका छोरासमेत रहनुभएका जनक सिंह सामन्त हाल अमेरिकामा बसोबास गर्दै आउनुभएको छ। उहाँले महायज्ञ सफल बनाउन ५ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गर्नुभएको आयोजक समितिले जनाएको छ।
धार्मिक आस्था, मन्दिर संरक्षण तथा सामाजिक सेवाको भावनाबाट प्रेरित भई आफूले उक्त सहयोग गरेको सामन्तले बताउनुभयो।
उक्त महायज्ञमा किसन सिंह सामन्त स्वयं आयोजक समितिका सह–संयोजक तथा आर्थिक विभाग प्रमुखको जिम्मेवारीमा रहनुभएको थियो। महायज्ञ सफल बनाउन उहाँले आर्थिक सहयोग मात्र नभई व्यवस्थापन, समन्वय तथा विभिन्न गतिविधिमा सक्रिय भूमिका निर्वाह गर्नुभएको सहभागीहरूले बताएका छन्।
मालिकार्जुन राष्ट्रिय धामको संरक्षण, सरसफाइ तथा व्यवस्थापनलाई दीर्घकालीन रूपमा व्यवस्थित बनाउन सामन्तले व्यक्तिगत पहलसमेत थालेका छन्। उहाँले आफ्नै व्यक्तिगत खर्चमा मन्दिरको नियमित सरसफाइ तथा व्यवस्थापनका लागि मासिक ११ हजार रुपैयाँ पारिश्रमिक दिने गरी एक जना कर्मचारी समेत नियुक्त गर्नुभएको छ।
धार्मिक तथा ऐतिहासिक महत्व बोकेको मालिकार्जुन धामको संरक्षण र व्यवस्थित व्यवस्थापन सबैको साझा दायित्व भएको उल्लेख गर्दै सामन्तले आफूले भेटी स्वरूप उक्त सहयोग गरेको बताउनुभएको छ। उहाँका अनुसार धार्मिक स्थलको संरक्षणसँगै यहाँ आउने श्रद्धालुहरूलाई स्वच्छ र व्यवस्थित वातावरण उपलब्ध गराउनु आवश्यक रहेको छ।
स्थानीय स्तरमा सामाजिक कार्यमा सक्रिय रहँदै आएका सामन्तले आगामी दिनहरूमा पनि शिक्षा, धर्म, सामाजिक विकास तथा विभिन्न जनहितका कार्यहरूमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
आयोजक समितिका अनुसार शिवपुराण महायज्ञ तथा धार्मिक महोत्सवमार्फत मालिकार्जुन धामको धार्मिक तथा पर्यटकीय महत्व थप उजागर हुनुका साथै स्थानीय स्तरमा सामाजिक एकता र सहयोगको भावना पनि मजबुत बनेको छ।
यसैबीच, महायज्ञको आय–व्यय विवरण आज (शुक्रबार) आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको थियो।

Leave A Reply

Your email address will not be published.