दार्चुला । दार्चुलाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद गणेश सिह ठगुन्ना जिल्लाभर घरदैलो कार्यक्रममार्फत जनताको भेटघाटमा व्यस्त हुनुहुन्छ। नेकपा एमालेबाट निर्वाचित ठगुन्ना दार्चुलाका दुर्गम र ग्रामीण बस्तीहरूमा पुगेर स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या सुन्ने कार्यमा जुट्नुभएको छ।
निर्वाचन अघि प्रचारप्रसारका क्रममा घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गरेको स्मरण गर्दै उनले अहिले जनतालाई धन्यवाद दिन र उनीहरूको समस्या बुझ्न पुन: गाउँ–गाउँ पुगिरहेको बताए । ग्रामीण क्षेत्रका समस्या नजिकबाट बुझेर समाधानका लागि आवश्यक पहल गर्ने उनको भनाई छ । आफू सम्पूर्ण जिल्लावासीको प्रतिनिधि तथा अभिभावक भएको उल्लेख गर्दै सांसद ठगुन्नाले समस्या पर्दा आफूलाई सम्झन स्थानीयलाई आग्रह समेत गर्न थालेको छन् ।
पूर्वाधार विकास, विद्युत् विस्तार, शिक्षा र स्वास्थ्य सेवाको सुदृढीकरणलगायत जनजीवनसँग प्रत्यक्ष जोडिएका क्षेत्रमा सुधार ल्याउन आफू प्रतिबद्ध रहेको बताउदैँ आएका छन् । तेस्रो पटक विजयी भएपछि ठगुन्नाले देशकै सामरिक महत्व बोकेको निर्माणाधीन दार्चुला तिङ्कर सडकलाई मुख्य प्राथमिकतामा राखेर आवश्यक बजेट विनियोजनका लागि सम्बन्धित मन्त्रालय, सदन र राष्ट्रिय योजना आयोगमा कुरा पुर्याउने बताउनुभएको छ ।
निर्माणाधीन गोकुलेश्वर विमानस्थल, अपिहिमाल गाउँपालिकालाई सडक सञ्जालसँग जोड्न प्राथमिकताका साथ काम गर्ने उहाँको भनाइ छ । यसैविच आज सांसद ठगुन्नाको टोली जिल्लाको अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी–झुस्कुमा पुग्ने कार्यक्रम रहेको छ ।
भोली चैत २ गते बिहान ९ बजे शैल्यशिखर नगरपालिकाको गोकुलेश्वरमा कार्यक्रम गरी सोही दिन दिउँसो २ बजे लेकम गाउँपालिका स्तरीय कार्यक्रम रिठाचौपातामा सञ्चालन गरिनेछ। चैत ३ गते बिहान ९ बजे मालिकार्जुन गाउँपालिकाको शंकरपुरमा र दिउँसो २ बजे महाकाली नगरपालिकाको सदरमुकाम खलंगामा कार्यक्रम सञ्चालन हुनेछ।
चैत ४ गते बिहान १० बजे दुहुँ गाउँपालिकाको चल्लेगडामा र दिउँसो ४ बजे व्याँस गाउँपालिका स्तरीय भेटघाट कार्यक्रम सञ्चालन गरिनेछ। चैत ५ गते जिल्ला सदरमुकाम खलंगामा जिल्ला स्तरीय कार्यक्रम आयोजना गर्ने तालिका रहेको एमाले जिल्ला किमिटी सचिव उमेशराज जोशीले जानकारी दिए ।