बैतडी ।बैतडीमा ज्वरोका कारण एक बालिकाको मृत्यु भएको छ । जिल्लाको पुर्चौंडी नगरपालिका –८ मल्लादेहीकी १२ बर्षीया पूजा बोहराको आइतबार राति ज्वरोका कारण मृत्यु भएको बताइएको छ ।
उच्च ज्वरोपछि उपचारका लागि हाट स्वास्थ्यचौकीमा पुर्याइएकी बोहराको उपचारकै क्रममा मृत्यु भएको पुर्चौंडी नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख विनोदकुमार कुँवरले बताए ।
बोहरामा देखिएको लक्षणका आधारमा उनमा मेनेन्जाइटिस अर्थात मष्तिष्क ज्वरोको समस्या हुन सक्ने अनुमान गरिएको छ । उक्त क्षेत्रमा ज्वरोका बिरामीहरु नरहेको बताइएको छ ।
यसअघि पुर्चौंडी नगरपालिका–१० महरा गाउँमा गएको फागुन ११ र १६ गते मौसमी ज्वरोका कारण एकै घरका दुई दाजुभाइको मृत्यु भएको छ । ज्वरोका कारण १० बर्षीय विकास महरा र १३ बर्षीय विनोद महराको मृत्यु भएको थियो ।