दार्चुला । दार्चुलामा विद्युतिकरणको काममा संलग्न मजदुरहरूले दुई वर्षदेखि काम गरेको ज्याला नपाएपछि स्थानीय जनप्रतिनिधिले आयोजनाको गाडी नियन्त्रणमा लिएका छन्।
मंगलबार जिल्लाको मालिकार्जुन गाउँपालिकाका प्रवक्ता तथा वडा – ५ का वडा अध्यक्ष मदन बहादुर चन्दले दार्चुला–डोल्पा विद्युतिकरण आयोजनाको गाडी समातेर प्रहरी चौकी पस्तीमा बुझाएका हुन्।
वडा – ४ र ५ का मजदुरहरूले विद्युतिकरणको काम गरेको रकम नपाएको भन्दै वडामा उजुरी दिएपछि गाडी नियन्त्रणमा लिइएको वडा अध्यक्ष चन्दले जानकारी दिए। उनका अनुसार वडा नम्बर ५ का करिब १५–२० जना मजदुरको मात्रै चार लाख रुपैयाँभन्दा बढी ज्याला ठेकेदारले दिन बाँकी रहेको छ।
मालिकार्जुन गाउँपालिकामा २०८० सालको अन्त्यतिर विद्युत् विस्तारको काम गरिएको थियो। नेपाल विद्युत् प्राधिकरण अन्तर्गत सञ्चालनमा रहेको दार्चुला–डोल्पा विद्युतिकरण आयोजनाले जिल्लाका विभिन्न पालिकामा विद्युतिकरण गर्ने जिम्मेवारी दिएको थियो।
कैलालीको अत्तरिया निवासी जुनियर टेक्लाक्स कम्पनीले मालिकार्जुन गाउँपालिका सहित मार्मा, लेकम, दुहुँ गाउँपालिका तथा शैल्यशिखर र महाकाली नगरपालिका गरी छ वटा पालिकामा विद्युतिकरण गर्ने जिम्मेवारी लिएको थियो।
आयोजनाका दार्चुला इन्चार्ज इन्जिनियर मनोज बस्नेतका अनुसार अफिसबाट पेटी ठेक्का मार्फत जुनियर टेक्लाक्सका अभिषेक गुप्ताले कामको जिम्मेवारी लिएका थिए। उनले पुन: मदन छेडाल नामक अर्का ठेकेदारलाई पेटी ठेक्का मार्फत मालिकार्जुन क्षेत्रमा काम गर्न दिएका थिए।
इन्जिनियर बस्नेतका अनुसार आयोजनाबाट कामको भुक्तानी भइसकेको भए पनि ती दुबै ठेकेदार भने करिब एक वर्षदेखि सम्पर्कविहीन रहेका छन्। मजदुरहरूले ज्याला नपाएको गुनासो बढेपछि स्थानीय जनप्रतिनिधिले गाडी नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका हुन्।