हर्क साम्पाङ केहीदिन प्रतिनिधिसभा बैठकमा अनुपस्थित रहने

दार्चुला । हर्क साम्पाङ केही दिनप्रतिनिधिसभा बैठकमा अनुपस्थित रहने भएका छन्। उनले सभामुखलाई पत्र लेख्दै चैत २३ गतेदेखि करिब ५ देखि ७ दिनसम्म बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएका हुन्।

हाल दार्चुला पुगेका साम्पाङ त्यहाँको स्थानीय समस्या अध्ययनमा व्यस्त छन्। विशेषगरी, महाकाली नदी पार गर्न अझै पनि तुइनको भर पर्नुपर्ने बाध्यता कायम रहेको अवस्थाबारे उनले प्रत्यक्ष अवलोकन गरिरहेका छन्।

स्थानीयवासीले दैनिक जीवन जोखिममा राख्दै तुइनमार्फत नदी वारपार गर्नुपर्ने अवस्था देखेपछि साम्पाङले श्रमदानमार्फत झोलुङ्गे पुल निर्माण गर्ने प्रतिबद्धता जनाएका छन्। उनले समुदायको सक्रिय सहभागितामा दिगो समाधान निकाल्ने उद्देश्यका साथ अध्ययन तथा छलफल गरिरहेको जनाएका छन्।

यसअघि पनि जनसहभागितामार्फत विभिन्न विकास कार्यमा सक्रिय भूमिका निर्वाह गर्दै आएका साम्पाङले दार्चुलामा समेत सोही मोडेल लागू गर्ने तयारी गरेका छन्। उनका अनुसार, स्थानीय तह, सरोकारवाला निकाय र सर्वसाधारणको सहकार्यमा छिट्टै पुल निर्माण प्रक्रिया अघि बढाइनेछ। दार्चुलाका बासिन्दाले भने साम्पाङको उपस्थितिलाई सकारात्मक रूपमा लिँदै दीर्घकालीन समाधानको अपेक्षा गरेका छन्।

Leave A Reply

Your email address will not be published.