काठमाडौं । दार्चुलामा आज देखि दोस्रो आर्थिक गणना हुँदैछ । त्यसका लागि जिल्लाभर नै गणक तथा सुपरिवेक्षक सम्बन्धित क्षेत्रमा खटाइएको छ । आर्थिक गणना कार्यालयका प्रमुख निरज ओझाले दिएको जानकारी अनुसार जिल्लाभरी तीन सुपरीवक्षेक र १८ जना गणक खटिएका छन् ।
यस गणनामा आर्थिक क्षेत्रका १८ वटा क्षेत्रको आधारभूत विवरण संकलन हुनेछ । गणनाबाट उद्योग, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी क्षेत्र सार्वजनिक संस्थाको संख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण संकलनको उद्देश्य राखिएको छ ।
जिल्लाको महाकाली नगरपालिकामा –६ जना शैल्यशिखर नगरपालिमा–३ जना मार्मा गाउँपालिकामा –२ जना र मालिकार्जुन गाउँपालिकामा –२ जना गणक खटिएका छन् ।यस्तै अपिहिमाल,दुँहु, व्यासँ,लेकम नौगाड गाउँपालिकामा समान एक–एक जना गणक खटिने आर्थिक गणना कार्यालयका प्रमुख निरज ओझाले जानकारी दिए । गणना कार्य बैशाख ७ गतेसम्म तोकिएको छ ।
जिल्लाभर रहेका दर्ता भए, नभएका ठूला साना, व्यापार प्रतिष्ठान, रोजगारीका हिसाबले धेरै रोजगारी दिएका वा स्वरोजगार प्रतिष्ठानको तथ्यांक संकलन गरिने छ । त्यस्तै, उद्योग, कलकारखाना, व्यापार र व्यवसाय, गैरसरकारी संघसंस्था, सरकारी संस्थान, सरकारी वा निजी विद्यालय, अस्पताल लगायतको गणना गरिने छ । उक्त गणनाको प्रतिवेदन आर्थिक वर्ष २०८३/८४ मा सार्वजनिक गरिने बताइएको छ । यसअघि विसं २०७५ मा राष्ट्रिय आर्थिक गणना गरिएको थियो ।