दार्चुला । लेकम गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणका लागि शिविर सञ्चालन गर्ने भएको छ। गाउँपालिकाले सार्वजनिक गरेको सूचनाअनुसार आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक नीति तथा कार्यक्रमअनुसार लाभग्राहीलाई सहज रूपमा भत्ता उपलब्ध गराउने उद्देश्यले उक्त शिविर आयोजना गर्न लागिएको हो।
गाउँपालिकाका अनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला तथा बालपोषण भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूलाई लक्षित गर्दै तेस्रो किस्ताको सामाजिक सुरक्षा भत्ता वितरण गरिनेछ। यसका लागि गाउँपालिकाको सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाले विभिन्न वडामा पुगेर शिविर सञ्चालन गर्ने जनाएको छ।
निर्धारित समय तालिकाअनुसार वडा नं. २,३ , ४, ६ र १ का कार्यालयहरूमा क्रमश: मिति तोकी सेवा प्रदान गरिनेछ। शिविर बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने जनाइएको छ। शिविर संञ्चालन बैशाख ९ गतेबाट १५ गतेसम्म राखिएको छ ।
भत्ता प्राप्त गर्न लाभग्राहीहरूले अनिवार्य रूपमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ल्याउनुपर्नेछ। साथै लक्ष्मी सनराइज बैंक मार्फत उपलब्ध गराइने चेकबुक सम्बन्धित लाभग्राहीकै उपस्थितिमा वितरण गरिने सूचनामा उल्लेख गरिएको छ।
गाउँपालिकाले सम्बन्धित सबै लाभग्राहीलाई तोकिएको मिति र स्थानमा उपस्थित भई सेवा लिन आग्रह गरेको छ। साथै थप जानकारीका लागि गाउँपालिकाको कार्यालयमा सम्पर्क गर्न सकिने जनाएको छ।
