नौगाड गाउँपालिकाद्वारा सातामा दुई दिन बिदा दिने निर्णयमा पुनर्विचार गर्न सरकारसँग आग्रह

दार्चुला ।  दार्चुलाको नौगाड गाउँपालिकाले विद्यालय तथा स्वास्थ्य संस्थामा सातामा दुई दिन (शनिबार र आइतबार) बिदा दिने सरकारी निर्णयले नकारात्मक असर परेको भन्दै नेपाल सरकारसँग पुनर्विचार गर्न आग्रह गरेको छ।

गाउँपालिकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा पठाएको पत्रमार्फत २०८२ साल चैत २३ गतेदेखि लागू गरिएको उक्त निर्णयका कारण शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष असर देखिएको जनाएको हो।

पत्रमा विद्यालयतर्फ आइतबारदेखि बिहीबारसम्म पूर्ण रूपमा पाठ्यक्रम केन्द्रित पठनपाठन र शुक्रबार आधा दिन कक्षा सञ्चालनसँगै अतिरिक्त क्रियाकलाप गर्न दिने व्यवस्था उपयुक्त हुने उल्लेख गरिएको छ। तर हालको दुई दिने बिदा प्रणालीका कारण समय व्यवस्थापनमा समस्या आएको, पाठ्यक्रम समयमै सम्पन्न गर्न कठिनाइ भएको र शैक्षिक गुणस्तर खस्किने जोखिम बढेको गाउँपालिकाको ठहर छ।

पाठ्यक्रममा कुनै परिवर्तन नगरी बिदा मात्र थप्दा शैक्षिक उपलब्धिमा नकारात्मक असर पर्ने जनाउँदै गाउँपालिकाले उक्त निर्णय सच्याउनुपर्नेमा जोड दिएको छ।

यस्तै, स्वास्थ्य संस्थामा पनि आइतबार बिदा हुँदा बिरामीहरूको उपचारमा समस्या हुने तथा सेवा प्रवाहमा अवरोध सिर्जना भएको गाउँपालिकाले जनाएको छ। स्वास्थ्यकर्मीहरूले बिदा पाउने अधिकार हुँदाहुँदै पनि सेवाप्रति नागरिकको निर्भरता उच्च भएकाले व्यवहारिक समस्या देखिएको उल्लेख गरिएको छ।

गाउँपालिकाले विद्यालय र स्वास्थ्य संस्थामा दुई दिने बिदा दिने निर्णय खारेज गरी पुरानै बिदा प्रणालीलाई अझ व्यवस्थित र प्रभावकारी रूपमा लागू गर्न सरकारसमक्ष माग गरेको छ।

उक्त पत्र गाउँपालिकाका अध्यक्ष दलजित सिंह धामीले हस्ताक्षर गरी पठाएका हुन्। साथै, आवश्यक पहलका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई समेत बोधार्थ दिइएको छ।

Leave A Reply

Your email address will not be published.