दार्चुला । राष्ट्रिय भिटामीन ए कार्यक्रम अन्तर्गत दार्चुलामा १० हजार भन्दा बढी बालबालिकाहरुलाई भिटामीन ‘ए’क्याप्सुल खुवाइने भएको छ । देशभरजस्तै वैशाख ६ र ७ गते बालबालिकाहरुलाई भिटामीन ए र जुकाको औषधी खुवाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।
स्वास्थ्य कार्यालय दार्चुलाका कार्यालय प्रमुख विरेन्द्र भट्टका अनुसार जिल्लामा ६ महिनादेखि ५९ महिनासम्मका १० हजार ४ सय ५० जना बालबालिकाहरुलाई भिटामीन‘ए’ क्याप्सुल खुवाउने लक्ष्य रहेको बताए ।
यस्तै जिल्लाभरीका १२ देखि ५९ महिनासम्मका ९ हजार ४ सय ५ जना बालबालिकाहरुलाई जुकाको औषधी खुवाउने लक्ष्य रहेको उनले बताए । जिल्लामा बालबालिकाहरुलाई भिटामीन ‘ए’ क्याम्पसुल र जुकाको औषधी खुवाउनका लागि ३ सय ७० जना सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरु परिचालन गरिएको छ ।
उनीहरुले टोलटोलमा पुगेर बालबालिकाहरुलाई भिटामीन ए र जुकाको औषधी खुवाउने बताइएको छ । आइतबार र सोमबार दुईदिन सम्म सञ्चालन हुने राष्ट्रिय भिटामीन ए कार्यक्रम अन्तर्गत बालबालिकाहरुलाई भिटामीन ए र जुकाको औषधी खुवाइने भएकाले सबैले आ–आफ्ना बालबालिकाहरुलाई नछुटाउन आग्रह गरिएको छ । आइतबार औषधी खुवाउन छुटेकाहरुलाई सोमबार खुवाइने स्वास्थ्य कार्यालयले जनाएको छ ।