दार्चुलामा पहिलो पटक रेडक्रसद्वारा रक्तसञ्चार केन्द्र (ब्लड बैंक) उद्घाटन

दार्चुला । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दार्चुलाले जिल्लामा पहिलो पटक रक्तसञ्चार केन्द्र सञ्चालनमा ल्याएको छ । पहिलो पटक संञ्चालनमा ल्याइएको रक्तसञ्चार केन्द्रलाई आइतबार (आज) एक औपचारीक कार्यक्रमका विच उद्घाटन गरिएको छ ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दार्चुलाका सभापति गोपाल सिह महरको अध्यक्षता एवम् दार्चुलाबाट निर्वार्चित सांसद गणेश सिह ठगुन्नाको प्रमुख आर्थित्यतामा रक्तसञ्चार केन्द्रको  उद्घाटन  गरिएको हो ।

उद्घाटन कार्यक्रममा सरोकारवाला निकाय, स्वास्थ्यकर्मी तथा स्थानीय व्यक्तित्वहरूको सहभागिता रहेको थियो । जिल्लामा रक्तसञ्चार सेवाको अभावलाई ध्यानमा राख्दै स्थापना गरिएको यस केन्द्रले आकस्मिक अवस्थाका बिरामीलाई समयमै रगत उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

विगतका वर्षहरुमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) नहुँदा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले दिएको रगतको भरमा बिरामीको ज्यान बचाउनुपर्ने अवस्था रहेको थियो। सुत्केरी महिला, दुर्घटना तथा आकस्मिकरुपमा रगत आवश्यक पर्दा कतिपयले अकालमा ज्यानसमेत गुमाउन पर्ने अवस्थाको ब्लड बैंकको स्थापना भएपछि स्थानीय हर्षित भएका छन्। स्थानीयवासी महेश भट्टले भने, ‘जिल्लामा ब्लड बैंक नहुँदा अत्यन्तै समस्या थियो।

सेना प्रहरीको भरमा अस्पतालले रगतको व्यवस्था गर्नु पर्ने अवस्था थियो। अकस्मिकरूपमा रगत नपाउँदा कतिपयले अकालमा ज्यान पनि गुमाएको अवस्था छ। कतिपयलाई यहाँ रगत नपाएर बाहिर पठाउँदा बाटोमा ज्यान गएको अवस्था पनि छ।

यो स्थापना हामी जिल्लावासीका लागि खुशीको कुरा हो तर यसको दिगो व्यवस्थापनको पक्षलाई निकै ध्यान दिन आवश्यक छ।’ अहिले रक्तदान कार्यक्रममार्फत रगत सङ्कलनको काम पनि भइरहेको छ।

जिल्ला रेडक्रसका सभापति गोपाल सिह महरले भने, ‘निकै ठूलो पहलपछि ढिलै भए पनि ब्लड बैंक स्थापना गर्न सफल भएका छौँ । यो हामी जिल्लावासीका लागि खुशीको कुरा हो। यसलाई दिगो व्यवस्थापनका साथ सञ्चालनमा ल्याउने गरी कामको व्यवस्थापन गरेका छौँ । अबका दिनमा रगत अभावका कारण ज्यान गुमाउनुपर्ने अवस्थाको अन्त्य हुनेमा हामी ढुक्क छौँ ।’

Leave A Reply

Your email address will not be published.