दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा–२मा रहेको सरस्वती मावि सेलिचामाले नयाँ शैक्षिक सत्रदेखि एउटा नया अभ्यासको थालनी गरेको छ । विद्यार्थी भर्ना अभियान संगै अहिले यो विद्यालय प्रत्येक अभिभावकको घर–दैलोमा पुग्न थालेको छ ।
नयाँ शैक्षिक सत्रका लागि यही वैशाख ४ गतेदेखि १५ गतेसम्म विद्यालयले विद्यार्थी भर्ना अभियान सुरु भएसँगै विद्यालयले आजबाट घरदैलो अभियान पनि सुरू गरेको छ । विद्यालयका प्रधानाध्यापक भुवन बहादुर डागाले विद्यालय जान उमेरका कोही बालबालिका नछुटून् भन्ने उद्देश्यले घरदैलो अभियान सुरु गरेको बताए ।
विद्यालयले घर र टोलमा पुगेर नयाँ विद्यार्थी थप्ने लक्ष्यका साथ विद्यालयका शिक्षक, कर्मचारीसँगै, व्यवस्थापन समितिका पदाधिकारी पनि भर्ना अभियानमा सक्रिय भएर लागेको विद्यालका शिक्षक मोहन सिह रावतले जानकारी दिए । उनका अनुसार विद्यालय जाने उमेर समूहका सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता भन्ने सङ्कल्पका साथ अभियान सुरु गरिएको बताए ।
अभियानको पहिलोदिन प्रधानाध्यापक भुवन बहादुर डागा सरको नेतृत्वमा मालिकार्जुन गाउँपालिका वडा नं. २ अन्तर्गत मौपानी, मुन्नाघर, ज्युनडा, दारढके तथा नायल आरिगाडा क्षेत्रमा अभिभावकका घरघरमा पुगेर सामुदायिक शिक्षा सुधारका विविध विषयमा छलफल गरिएको थियो। सो क्रममा विद्यार्थी भर्ना, नियमित उपस्थिति, अभिभावकको भूमिका, विद्यालय–समुदाय समन्वय तथा शैक्षिक गुणस्तर अभिवृद्धिका उपायहरूबारे अन्तरक्रिया गरिएको छ।
त्यसैगरी सहायक प्रधानाध्यापक दान सिंह धामीको नेतृत्वमा मालिकार्जुन गाउँपालिका वडा नं. ८ अन्तर्गत चामी, गौल र बानेश्वर क्षेत्रमा समेत समान कार्यक्रम सञ्चालन गरिएको थियो। कार्यक्रममा अभिभावकहरूले आफ्ना सुझाव तथा जिज्ञासा राख्दै विद्यालयसँग निरन्तर सम्पर्कमा रहने प्रतिबद्धता व्यक्त गरेका छन्।
अभियानको मुख्य उद्देश्य विद्यालय र अभिभावकबीचको सम्बन्धलाई सुदृढ बनाउँदै सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्नु रहेको विद्यालयले जनाएको छ। शिक्षक र अभिभावकबीच नियमित समन्वय कायम राख्ने सहमति समेत भएको छ। सरस्वती मावि सेलिचामा अहिले बालविकास कक्षा देखि कक्षा दशसम्म पठ्नपाठन हुने गरेको छ ।