दार्चुलामा माटोको ढिस्कोमा पुरिँदा दुई जना गम्भीर घाइते

दार्चुला । दार्चुलामा माटोको ढिस्कोमा पुरिँदा दुई जना गम्भीर घाइते भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका वडा–७, बोहरी गाउँमा घर निर्माणका क्रममा भिर खन्ने बेला माथिबाट खसेको माटोको ढिस्कोमा पुरिँदा दुई जना गम्भीर घाइते भएको बताइएको छ ।

घाइते हुनेमा मनिराम लाबड र नितेश लाबड रहेका रहेको स्थानीयले जानकारी दिए । आइतबार हिजो दिउँसो भएको उक्त घटनापछि घाइते दुवैलाई तत्काल गोकुलेश्वरस्थित मालिकार्जुन अस्पतालमा उपचारका लागि ल्याइएको थियो । तर त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि धनगढी (कैलाली) पठाइएको छ । माटोको ढिस्कोमा पुरिएर गम्मीभर घाइते भएका दुबैजनालाई उद्धारमा नगरपालिकाले एम्बुलेन्स नदिएको भन्दै त्यहाँका स्थानीयहरु रुष्ट भएका छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण घाइतेलाई धनगढी लैजान थप कठिनाइ भएको थियो । घटना भएको केहीसमयपछि निर्वाचित प्रतिनिधि सभा सदस्य गणेश सिंह ठगुन्ना र शैल्यशिखर वडा –७ का वडा अध्यक्ष पुष्पराज जोशीसँग समन्वय गरी दुई वटा गाडी बुकिङ गरेर घाइतेलाई धनगढी पठाइएको बताइएको छ ।

हाल दुवै घाइतेको कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ र स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको छ । विपद्को समयमा नगरपालिकाबाट सवारी साधन उपलब्ध हुन नसकेको भन्दै स्थानीयले असन्तुष्टि व्यक्त गरेका छन्। नगरपालिकामा भाडामा रहेका सवारी साधन हुँदाहुँदै पनि आपतकालीन अवस्थामा प्रयोग हुन नसक्नुले व्यवस्थापनमाथि गम्भीर प्रश्न उठेको छ ।

Leave A Reply

Your email address will not be published.