डम्पिङ साइटमा आगो लागेपछि नगरपालिकाको चौतर्फी आलोचना (भिडिओ सहित)

दार्चुला । महाकाली नगरपालिकाको डम्पिङ साइटमा थुपारिएको फोहोरमा अचानक आगलागी हुँदा आसपासका क्षेत्रमा बाक्लो धुवाँ फैलिएको छ, जसले वातावरणीय प्रदूषण बढाउनुका साथै स्थानीय बासिन्दाको स्वास्थ्यमा गम्भीर असर पुर्‍याएको छ।

डम्पिङ क्षेत्रमा लागेको आगोका कारण नजिकैका बस्तीहरू प्रभावित भएका छन्। धुवाँका कारण श्वासप्रश्वास सम्बन्धी समस्या बढ्न थालेको भन्दै स्थानीयवासी त्रसित बनेका छन्। घटनापछि आक्रोशित स्थानीयले नगरपालिकाविरुद्ध कडा विरोध जनाएका छन्।

केही दिनअघि मात्र नगरपालिकाले संकलित फोहोर महाकाली नदी मा फालिएको विषयले विवाद सिर्जना गरेको थियो। उक्त घटनाको चर्चा सेलाउन नपाउँदै पुन: डम्पिङ साइटमै आगलागी भएकोले नगरपालिकाको कार्यशैलीप्रति जनआक्रोश झन् चुलिएको छ।

आगो कसरी र किन लाग्यो भन्नेबारे हालसम्म स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन। स्थानीयवासीले भने यो घटना लापरवाहीको परिणाम भएको आरोप लगाएका छन्। “स्वच्छ वातावरण कायम गर्नु स्थानीय सरकारको प्रमुख दायित्व हो, तर जिम्मेवार निकायबाटै यस्तो घटना हुनु दु:खद छ,” एक स्थानीयले बताए।

स्थानीयले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न माग गरेका छन्। साथै, दीर्घकालीन रूपमा प्रभावकारी फोहोर व्यवस्थापन योजना लागू गर्नुपर्ने आवश्यकता पनि उनीहरूले औंल्याएका छन्।

यस घटनाले फोहोर व्यवस्थापन प्रणालीको कमजोरी उजागर गरेको भन्दै सरोकारवालाहरूले तत्काल सुधारात्मक कदम चाल्नुपर्नेमा जोड दिएका छन्।

 

Leave A Reply

Your email address will not be published.