दार्चुला — दार्चुलाको नौगाड गाउँपालिका–३ खारका स्थानीयले निर्माण व्यवसायीबाट पारिश्रमिक तथा उधारो रकम नपाएको भन्दै खार–खंलगा सडक अनिश्चितकालका लागि बन्द गर्ने चेतावनी दिएका छन्। स्थानीय दलवीर बोहरा सहित ७ जनाले प्रमुख जिल्ला अधिकारीसमक्ष निवेदन दिँदै समस्या समाधान नभए कडा कदम चाल्ने बताएका हुन्।
निवेदकहरूका अनुसार उनीहरूले यसअघि औपचारिक रूपमा विज्ञप्ति बुझाएर समाधानको पहल गरिसके पनि कुनै सुनुवाइ नभएपछि पुनः आन्दोलनको चेतावनी दिन बाध्य भएका हुन्। देथला–खार–खंलगा सडक स्तरोन्नतिको काम बैतडीको पुचौंडी नगरपालिका–६ का राजेन्द्र एण्ड इन्द्र धनु जेभी प्रालिका सब–कन्स्ट्रक्टर तथा साइट इन्चार्ज रामसिंह साउदले गर्दै आएका थिए।
स्थानीयका अनुसार २०८१ मंसिरदेखि चैतसम्म काम गरेबापतको पारिश्रमिक तथा पसलको उधारो रकम आर्थिक वर्ष २०८१/०८२ भित्रै भुक्तानी गर्ने सहमति भए पनि हालसम्म कुल ३ लाख ५२ हजार ७६० रुपैयाँ भुक्तानी गरिएको छैन। पटक–पटक सम्पर्क गर्दा पनि सम्बन्धित पक्ष सम्पर्कमा नआएको उनीहरूको गुनासो छ।
यसअघि जिल्ला प्रहरी कार्यालय दार्चुलामा निवेदन दिँदै ठेकेदारलाई उपस्थित गराउन आग्रह गरिएको भए पनि कुनै सुनुवाइ नभएको आरोप लगाइएको छ। त्यसपछि बाध्य भएर २०८३ वैशाख २० गतेदेखि रकम नदिएसम्म खार–खंलगा सडकमा सवारी आवतजावत बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।
उक्त विषयमा जिल्ला प्रशासन कार्यालय दार्चुला, जिल्ला प्रहरी कार्यालय, नौगाड गाउँपालिका तथा सम्बन्धित वडा कार्यालयलाई समेत जानकारी गराइएको पीडित पक्षले जनाएको छ।