दार्चुलामा एसईई नतिजा कमजोर, ३०.८३ प्रतिशत मात्रै विद्यार्थी उत्तीर्ण

दार्चुला । माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को नतिजामा दार्चुला जिल्लाको समग्र उत्तीर्ण प्रतिशत कमजोर देखिएको छ। सार्वजनिक तथ्यांकअनुसार जिल्लाका कुल २ हजार ४ सय ४५ परीक्षार्थीमध्ये केवल ७ सय ५४ जना मात्रै उत्तीर्ण भएका छन् ।

यस्तै परीक्षामा सहभागी १ हजार ६ सय ९१ जना विद्यार्थी नन–ग्रेडेड अर्थात (एनजी) भएका छन्। जिल्लाको कुल ग्रेडेड प्रतिशत ३०.८३ रहेको शिक्षा विकास तथा समन्वय इकाई कार्यालय दार्चुलाले जनाएको छ ।

नतिजा अनुसार सबैभन्दा बढी ३ सय ५१ विद्यार्थीले जीपीए २.४ देखि २.८० सम्म प्राप्त गरेका छन्। त्यस्तै जीपीए २.८ देखि ३.२० सम्म २ सय ६२ जना, जीपीए ३.२ देखि ३.६० सम्म ७६ जना तथा जीपीए ३.६ देखि ४.०० सम्म १५ जना विद्यार्थी रहेका छन्।

जीपीए २.०० देखि २.४० सम्म ५० जना विद्यार्थी रहेका छन् भने जीपीए १.६ देखि २.०० समूहमा कुनै पनि विद्यार्थी नरहेको तथ्यांकमा उल्लेख छ। जिल्लाको नतिजा अपेक्षाभन्दा कमजोर आएपछि शिक्षाको गुणस्तर, विद्यार्थीको नियमितता तथा विद्यालयको शैक्षिक वातावरणबारे पुन: समीक्षा गर्नुपर्ने आवश्यकता देखिएको सरोकारवालाहरूले बताएका छन्।

जिल्लाका शिक्षा सरोकारवालाले विद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षक व्यवस्थापन, अतिरिक्त कक्षा सञ्चालन तथा विद्यार्थी केन्द्रित शिक्षण प्रणालीमा जोड दिनुपर्ने बताएका छन् । कमजोर नतिजापछि आगामी वर्ष सुधारका लागि विशेष योजना बनाइने जनाइएको छ ।

Leave A Reply

Your email address will not be published.