दार्चुला । दार्चुलाको महाकाली नगरपालिका अन्तर्गतका विद्यालयहरूको एसईई परीक्षा २०८२को नियमिततर्फको नतिजा सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार नगरपालिकाभर कुल ५१६ विद्यार्थी परीक्षामा सहभागी भएकामध्ये २२२ जना ग्रेडेड भएका छन् भने २९४ जना ननग्रेडेड भएका छन् । समग्र उत्तीर्ण प्रतिशत ४३.०२ रहेको छ ।
नतिजाअनुसार दार्चुला पब्लिक स्कुलले शतप्रतिशत नतिजा ल्याउँदै उत्कृष्ट अंक ल्याएको छ । विद्यालयबाट सहभागी ६ जना विद्यार्थी सबै ग्रेडेड भएका हुन् ।
त्यस्तै, पाशुपति शिक्षा मन्दिरले ७५ प्रतिशत, दुर्गालटिनाथ माध्यमिक विद्यालय मैखोलीले ४२.८६ प्रतिशत तथा अलकापुरी माध्यमिक विद्यालय कोटकौतली विद्यालयले ३६.८४ प्रतिशत नतिजा हासिल गरेका छन् ।
नगरभित्रकै ठूलो संख्यामा विद्यार्थी सहभागी रहेको महेन्द्र माध्यमिक विद्यालय खलंगामा (साधारण) तर्फ २८३ विद्यार्थी सहभागी भएकामध्ये १४४ जना ग्रेडेड भएका छन् । उक्त विद्यालयको उत्तीर्ण प्रतिशत ५०.८८ रहेको छ भने १० जना विद्यार्थीले ३.६ देखि ४ जीपीए प्राप्त गरेका छन् ।
यस्तै, मालिकार्जुन माध्यमिक विद्यालय धाप (साधारण) तर्फ ६२.८६ प्रतिशत नतिजा ल्याएको छ भने प्राविधिकतर्फ ७.६९ प्रतिशत मात्र विद्यार्थी ग्रेडेड भएका छन् । नगरपालिकाले ग्रेडेड भएका सम्पूर्ण विद्यार्थीलाई बधाई दिँदै ननग्रेडेड विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षाको अवसरको पूर्ण सदुपयोग गर्न आग्रह गरेको छ ।
