पत्रकारहरुको पेशागत सुरक्षाका लागि भीमदत्तद्वारा प्रेस ज्याकेट र क्याप हस्तान्तरण ।

  • कञ्चनपुर, ३० वैशाख ।

कञ्चनपुरको भीमदत्तनगरपालिकाले नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरलाई प्रेस ज्याकेट र प्रेस क्याप हस्तान्तरण गरेको छ ।

आज मंगलबार भीमदत्तनगरपालिका कार्यालयमा आयोजित कार्यक्रममा नगर प्रमुख पदम बोकटी, उपप्रमुख निलम लेखक जोशी तथा प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले संयुक्त रुपमा महासंघ शाखा कञ्चनपुरका अध्यक्ष सुरेश धामी र सचिव कुन्दन पाण्डेयलाई प्रेस ज्याकेट तथा क्याप हस्तान्तरण गरेका हुन् ।

भीमदत्तनगरपालिकाको आर्थिक सहयोगमा महासंघलाई १०० थान प्रेस ज्याकेट र १०० थान प्रेस क्याप उपलब्ध गराइएको महासंघ अध्यक्ष धामीले जानकारी दिए । पत्रकारहरुको पहिचान, पेशागत सुरक्षा तथा समाचार संकलनका क्रममा सहजताका लागि उक्त सामग्री सहयोग गरिएको जनाइएको छ ।

नगर प्रमुख पदम बोकटीले पत्रकारहरु समाजका महत्वपूर्ण सूचनावाहक र लोकतन्त्रका आधारस्तम्भ भएको उल्लेख गर्दै उनीहरुको सुरक्षालाई स्थानीय सरकारले प्राथमिकतामा राखेको बताए । “पत्रकारहरु कुनै पनि घटना, दुर्घटना, विपद्, आन्दोलन तथा जोखिमपूर्ण परिस्थितिमा अग्रपंक्तिमा रहेर काम गर्नुहुन्छ,” उनले भने, “त्यसैले पत्रकारको स्पष्ट पहिचान र पेशागत सुरक्षाका लागि प्रेस ज्याकेट तथा क्याप आवश्यक महसुस गरेर सहयोग गरेका हौं ।”

उपप्रमुख निलम लेखक जोशीले निष्पक्ष, जिम्मेवार र जनपक्षीय पत्रकारिताले समाजलाई सही दिशा दिने बताउँदै स्थानीय सरकार र सञ्चारमाध्यमबीचको सहकार्य अझ सुदृढ हुनुपर्ने धारणा राखिन् । उनले पत्रकारहरुको क्षमता अभिवृद्धि र  पत्रकारहरुको सशक्तिकरणमा समेत नगरपालिकाले आगामी दिनमा सहकार्य गर्ने बताइन ।

महासंघ अध्यक्ष सुरेश धामीले पत्रकारहरुको पेशागत सुरक्षालाई मध्यनजर गर्दै सहयोग गरेकोमा भीमदत्तनगरपालिका प्रति आभार व्यक्त गरे । उनले आगामी दिनमा पनि पत्रकारहरुको क्षमता विकास, तालिम, प्रविधि व्यवस्थापन तथा मिडिया प्रवर्द्धनका क्षेत्रमा यस्तै सहकार्यको अपेक्षा रहेको बताए ।

“सशक्त र जिम्मेवार पत्रकारिता लोकतन्त्रको महत्वपूर्ण आधार हो,” उनले भने, “त्यसैले सञ्चार क्षेत्रलाई मजबुत बनाउन सबै पक्षको सहयोग आवश्यक छ ।”

उनले अन्य स्थानीय तहहरुलाई समेत पत्रकारहरुको पेशागत सुरक्षा, क्षमता अभिवृद्धि र सञ्चार क्षेत्रको विकासमा ध्यान दिन आग्रह गरे ।

Leave A Reply

Your email address will not be published.