नौगाड गाउँपालिकाको एसईई नतिजा कमजोर, २०.८६ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण

दार्चुला । दार्चुलाको नौगाड गाउँपालिकाभित्र सञ्चालित सात वटा माध्यमिक विद्यालयको शैक्षिक सत्र २०८२ को नियमित एसईई परीक्षाको नतिजा सार्वजनिक गरिएको छ । गाउँपालिकाले सार्वजनिक गरेको विवरण अनुसार कुल सहभागी ३५० विद्यार्थीमध्ये ७३ जना मात्रै ग्रेड प्राप्त गर्न सफल भएका छन्। समग्र उत्तीर्ण प्रतिशत २०.८६ रहेको छ।

सार्वजनिक नतिजा अनुसार सबैभन्दा राम्रो नतिजा केदारेश्वरी मावि सुण्डमुण्डले ल्याएको छ। उक्त विद्यालयबाट सहभागी २५ विद्यार्थी मध्ये ८ जनाले ग्रेड प्राप्त गर्दै ३२ प्रतिशत नतिजा हासिल गरेका छन्।

त्यस्तै गणेश विनायक मावि सिप्टीबाट ८८ जना सहभागीमध्ये २७ जना ग्रेड प्राप्त गरी ३०.६८ प्रतिशत नतिजा आएको छ भने जनहित मावि धुलिगडाले ३४.६७ प्रतिशत नतिजा ल्याएको छ।

गोरीशंकर मावि नागुमा सहभागी २८ जनामध्ये २ जना मात्रै उत्तीर्ण भएका छन्। यस्तै भूमिराज मावि इयरकोटबाट ४० जनामध्ये ३ जना, लटिनाथ मावि खारबाट ७६ जनामध्ये ४ जना तथा समैजी मावि सौकेबगडबाट १८ जनामध्ये ३ जना विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्।

गाउँपालिकाले ग्रेड प्राप्त गरेका विद्यार्थीलाई बधाई दिँदै अपेक्षित नतिजा हासिल गर्न नसकेका विद्यार्थीलाई ग्रेडवृद्धि परीक्षाको अवसर सदुपयोग गर्न आग्रह गरेको छ।

प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिंह धामीद्वारा जारी सूचनामा विद्यालय, अभिभावक र सरोकारवालाले आगामी वर्ष शैक्षिक गुणस्तर सुधारमा थप ध्यान दिनुपर्ने उल्लेख गरिएको छ।

Leave A Reply

Your email address will not be published.