दार्चुला । दार्चुलामा सञ्चालन हुन लागेको १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । भोली जेठ २ गतेदेखि सुरु हुने प्रतियोगिताका लागि जिल्लाका नौवटै स्थानीय तह प्रशिक्षण तथा व्यवस्थापन कार्यमा सक्रिय रूपमा जुटेका छन् ।
जिल्ला राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशन समितिको निर्णयअनुसार आयोजना हुने प्रतियोगितामा पालिका स्तरीय छनोटबाट उत्कृष्ट ठहरिएका छात्र तथा छात्रा खेलाडीहरूले सहभागिता जनाउनेछन् । जिल्लाका सबै स्थानीय तहमा पालिका स्तरीय छनोट प्रतियोगिता सम्पन्न भइसकेको जनाइएको छ ।
स्थानीय तहहरूले छनोट भएका खेलाडीलाई विभिन्न खेल विधामा नियमित अभ्यास तथा प्रशिक्षण गराइरहेका छन् । प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्स, कराते, तेक्वान्दोलगायत विभिन्न खेल विधामा अन्तरपालिका स्तरीय प्रतिस्पर्धा हुने जिल्ला खेलकुद समितिले जनाएको छ ।
यसैबीच जिल्ला खेलकुद समितिले प्रतियोगितामा सहभागी खेलाडीहरूको नामावली, जन्मदर्ता प्रमाणपत्रको प्रतिलिपि, फोटोसहितको दर्ता फाराम तथा खेल विधाअनुसारको विवरण वैशाख ३० गतेभित्र अनिवार्य रूपमा पेश गर्न स्थानीय तहलाई आग्रह गरेको छ । १६औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता जेठ २, ३ र ४ गते सदरमुकाम खलङ्गास्थित शिवनगर खेलमैदानमा सञ्चालन हुनेछ ।