नेपाली कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकले १५औँ महाधिवेशनको तयारीलाई तीव्र बनाउने निर्णय गरेको छ । समितिका संयोजक महामन्त्री प्रदीप पौडेलको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकले क्रियाशील सदस्यता अद्यावधिकलाई सहज र द्रुत बनाउन सातै प्रदेशमा केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यलाई विशेष जिम्मेवारी तोकेको छ ।
निर्णयअनुसार डिला संग्रौलालाई कोशी, बहादुरसिंह लामालाई बागमती, उदयशमशेर राणालाई सुदूरपश्चिम, मुक्ताकुमारी यादवलाई गण्डकी, जानकी सिंहलाई कर्णाली, देवराज चालिसेलाई मधेश तथा अमरसिंह पुनलाई लुम्बिनी प्रदेशको जिम्मेवारी दिइएको छ ।
बैठकले १५औँ महाधिवेशनका लागि नयाँ क्रियाशील सदस्यता वितरण तथा विभिन्न कारणले नवीकरण हुन नसकेका सदस्यहरूको सदस्यता नवीकरण गरी केन्द्रीय प्रणालीमा प्रविष्ट गर्ने कार्य २०८३ जेठ २१ गतेभित्र सम्पन्न गर्ने निर्णय पनि गरेको छ ।
कांग्रेसले संगठन सुदृढीकरण र महाधिवेशन तयारीलाई लक्षित गर्दै सदस्यता व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ ।