बाजुरा र हुम्ला सीमा विवाद घटनामा संलग्न भएको भन्दै २३ जनाविरुद्व किटानी जाहेरी परेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार स्थानीय, जनप्रतिनिधि, कर्मचारी र पर्यटकमाथि कुटपिट गरेको आरोपमा हुम्लाका २३ जनाविरुद्व जाहेरी परेको हो ।
जिल्ला प्रहरी प्रमुख डीएसपी शैलेश्वरी बोहराका अनुसार २३ जनालाई पक्राउ गरेर घटनाको अनुसन्धान गर्न हुम्ला प्रहरीसँग समन्वय भइरहेको जानकारी दिइन् । ‘२३ जनाकै नाम खुलिसकेको छ, उनीहरूमध्ये २० जनाको ठेगाना खुलेको छैन,’ डीएसपी बोहराले भनिन्, ‘घटनामा घाइते भएका मीनु कुँवरका बुवाले किटानी जाहेरी दिएका हुन् ।’ कुँवरको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
हिमाली गाउँपालिका– ३ लाम्पाटामा प्रहरी चौकी स्थापनाको विषयमा विवाद हुँदा जेठ २ गतेदेखि ५ गतेसम्म स्थानीय बासिन्दा, जनप्रतिनिधि, कर्मचारीमाथि कुटपिट भएको थियो भने पर्यटकलाई रानीसैन (साइपाल हिमालको पूर्वी बेस क्याम्प) भ्रमणमा अवरोध गरिएको थियो । घटनामा हुम्लाको खार्पुनाथ गाउँपालिका– २ थाली गाउँ र आसपासका बासिन्दाको संलग्नता रहेको आरोप छ ।
डीएसपी बोहराले घटनास्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली पनि पुगिसकेको जानकारी दिइन् । यस्तै, सरकारले दुई जिल्लाको सीमा सम्बन्धी प्राविधिक पक्षको अध्ययन गरी प्रतिवेदन पेस गर्न नापी विभागका उपमहानिर्देशक सुशील डंगोलको संयोजकत्वमा समिति गठन गरिसकेको छ ।
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको अध्यक्षतामा २०८३ जेठ १० गते सिंहदरबारमा बसेको बैठकले उक्त समिति गठन गर्ने निर्णय गरेको हो । लाम्पाटा र रानीसैन क्षेत्र आ–आफ्नो भूमि रहेको बाजुरा र हुम्लाका बासिन्दाले दाबी गर्दै आएका छन् । विवादित क्षेत्रमा हिमाली गाउँपालिकाले प्रहरी चौकी निर्माण सुरु गरेको भन्दै हुम्लावासीले अवरोध गरेका थिए ।