दार्चुला । राष्ट्रिय तथ्याङ्क कार्यालय, थापाथली काठमाडौंका उपप्रमुख तथ्याङ्क अधिकारी डा. शरद कुमार शर्मा तथा निर्देशक मनोहर घिमिरे राष्ट्रिय आर्थिक गणना–२०८२ को अनुगमन तथा मूल्याङ्कनका लागि जिल्ला आर्थिक गणना कार्यालय, दार्चुला पुगेका छन्।
अनुगमनका क्रममा टोलीले जिल्ला आर्थिक गणना कार्यालयबाट सञ्चालन भइरहेको गणना कार्यको प्रगति, तथ्याङ्क संकलनको अवस्था, गणनाकर्मीहरूको परिचालन तथा कार्यसम्पादन सम्बन्धी गतिविधिबारे जानकारी लिएको जनाएको छ। साथै, गणना कार्यलाई प्रभावकारी, विश्वसनीय र गुणस्तरीय बनाउन आवश्यक सुझाव तथा निर्देशनसमेत प्रदान गरिएको छ।
अनुगमन टोलीले गणना कार्यमा संलग्न कर्मचारी तथा गणनाकर्मीहरूसँग अन्तरक्रिया गर्दै फिल्डस्तरमा देखिएका चुनौती, समस्या र समाधानका उपायबारे छलफल गरेको थियो। टोलीले आर्थिक गणनाबाट प्राप्त हुने तथ्याङ्कले देशको आर्थिक योजना निर्माण, नीति तर्जुमा तथा विकास कार्यक्रम सञ्चालनमा महत्वपूर्ण आधार प्रदान गर्ने भएकाले गणना कार्यलाई उच्च प्राथमिकताका साथ सम्पन्न गर्न आग्रह गरेको छ।
जिल्ला आर्थिक गणना कार्यालय, दार्चुलाले राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत जिल्लाभर रहेका विभिन्न आर्थिक गतिविधि, व्यवसाय तथा प्रतिष्ठानहरूको विवरण संकलन कार्य जारी रहेको जनाएको छ।
राष्ट्रिय आर्थिक गणना–२०८२ मार्फत देशभरका आर्थिक एकाइहरूको यथार्थ अवस्था पहिचान गरी आर्थिक क्षेत्रको समग्र चित्र प्रस्तुत गर्ने लक्ष्य राखिएको छ। दार्चुलामा भइरहेको अनुगमनले गणना कार्यलाई थप व्यवस्थित, प्रभावकारी र नतिजामुखी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।जिल्लामा गत बैशाख २ गते देखि आर्थिक गणना कार्य जारी रहेको छ ।