दार्चुला । नेपाली कांग्रेसका नेता धर्मानन्द जोशीले नेपाल–भारत सीमा विवाद र दशगजा क्षेत्रमा भइरहेको अतिक्रमणलाई लिएर वर्तमान प्रधानमन्त्री र सरकारको कूटनीतिक अक्षमतामाथि गम्भीर प्रश्न उठाउनु भएको छ। सरकारको फितलो नीतिका कारण देशको सार्वभौमिकता संकटमा परेको भन्दै नेता जोशीले तीखो आक्रोश व्यक्त गर्नुभएको हो।
नेता जोशीले सामाजिक सञ्जालमार्फत वर्तमान सरकारको अपरिपक्वतामाथि प्रहार गर्दै भन्नुभएको छ, “अब भारतले नेपालले मिचेको भारतको जग्गा फिर्ता माग्यो भने कुन जग्गा दिने होला? १) लिम्पियाधुरा, लिपुलेक र कालापानी वा, २) सुस्ता?“ उहाँको यो व्यङ्ग्यात्मक प्रश्नले सीमा रक्षाका सवालमा सरकार कतिसम्म निरीह बनेको छ भन्ने कुरालाई उजागर गर्दछ।
दशगजा क्षेत्रमा भइरहेका गतिविधि र अतिक्रमणलाई साधारण ’सीमा विवाद’ मात्र भन्न नमिल्ने तर्क गर्दै नेता जोशीले भने, “दशगजाको अतिक्रमणलाई सीमा विवाद भन्न मिल्दैन, किनकि दशगजा ’नो म्यान्स ल्याण्ड’ (नो म्यान्स ल्याण्ड) हो।“ अन्तर्राष्ट्रिय कानुन विपरित ’नो म्यान्स ल्याण्ड’ मा भइरहेका हस्तक्षेपमा समेत सरकार मौन बस्नु रहस्यमय र निन्दनीय भएको उनको जिकिर छ।
प्रधानमन्त्रीको कार्यशैली र परराष्ट्र नीतिको कडा आलोचना गर्दै जोशीले अगाडि थप्नुभयो, “कति अक्षम, अपरिपक्व र राष्ट्रघाती प्रधानमन्त्री?“ देशको भूभाग र राष्ट्रिय हित रक्षा गर्न नसक्ने नेतृत्व इतिहासकै कमजोर साबित भएको दाबी गर्दै उहाँले आफ्नो भनाइको अन्त्यमा “जय नेपाल“ को नारासहित देशभक्त नागरिकहरूलाई सजग हुन आह्वान समेत गरे ।
नेपालले आफ्नो राजनीतिक नक्सामा समेटेका लिम्पियाधुरा, लिपुलेक र कालापानी तथा सुस्ता क्षेत्रको विवाद सुल्झाउन कूटनीतिक संवाद गर्नुपर्ने बेलामा सरकारको यस्तो लाचारीले राष्ट्रिय सुरक्षामाथि नै गम्भीर धक्का पुग्ने विश्लेषण राजनीतिक वृत्तमा गर्न थालिएको छ।