दार्चुला प्रहरीको जेठ महिनाभरीको कार्य सम्पादन सार्वजनिक, वितेको एक महिनामा के–के भए ?

दार्चुला । दार्चुला प्रहरीले जेठ महिनाको प्रमुख कार्य प्रगति विवरण सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेमराज भट्टद्वारा हस्ताक्षरित प्रेस विज्ञप्ति मार्फत मंगलबार जेठ महिनामा सम्पादित प्रमुख कार्य प्रगति विवरण सार्वजनिक गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाले गत जेठ महिनामा शान्त सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, अवैध सामग्री बरामद, एवं सामुदायिक सचेतनाका क्षेत्रमा उल्लेख्य सफलता हासिल गरेको प्रगति विवरण मार्फत जानकारी दिएको छ । प्रहरी कार्यालयका अनुसार जेठ महिनामा जिल्लाभर कुल ११ वटा अपराधका मुद्दाहरू दर्ता भएका छन्।

जसमा ज्यान सम्बन्धी ३ वटा, आत्महत्या सम्बन्धी ३ वटा, संगठित तथा आर्थिक अपराध तर्फ ३ वटा, सामाजिक अपराध १ वटा र महिला तथा बालबालिका सम्बन्धी १ वटा मुद्दा रहेका छन्।

जघन्य तथा गम्भीर अपराध अन्तर्गत बैंकिङ कसुरमा १, जुवातासमा १ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धी १ गरी कुल ३ वटा घटना दर्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । यस अवधिमा प्रहरीले पुराना तथा चालु मुद्दाका २१ जना फरार प्रतिवादीहरूलाई पक्राउ गर्न सफल भएको जनाएको छ ।

हाल पक्राउ गर्न बाँकी संख्या शून्य रहेको जनाएको छ । यस्तै, विगतको जेन्जी आन्दोलनका क्रममा दार्चुला कारागारबाट फरार रहेका १ जना अभियुक्तलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक तर्फ कुल ८ वटा उजुरी परेका थिए। पीडितहरूको उमेर समूह विश्लेषण गर्दा १९ देखि २५ वर्षका ४ जना, २६ देखि ४५ वर्षका ३ जना र ४६ देखि ५९ वर्षका १ जना रहेका छन्।
यसैगरी जेठ महिनामा हराएका ७ जना ३ महिला, ३ बालिका र १ पुरुषको खोजी गरी सकुशल फेला पारिएको प्रहरीले जनाएको छ।

घरेलु हिंसा तर्फ प्राप्त ८ वटा उजुरीमध्ये ७ वटामा आपसी मिलापत्र गराइएको छ । र १ वटा मुद्दा अदालतमा पठाइएको छ। यस्तै, १७ वटा ठाडो उजुरीहरू प्राप्त भएकोमा सबै १७ वटै उजुरी फछ्र्यौट गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्लामा शान्ति सुरक्षा चुस्त राख्न प्रहरीले व्यापक रूपमा जनशक्ति परिचालन गरेको छ। महिनाभर पिकेट तर्फ २१७, चेकिङ तर्फ २१७, ग्रामीण गस्ती तर्फ ५६६, एलआरपि एलआरपी ७ र एसआरपि (एसआरपी) ५७४ गरी कुल १,५८१ पटक प्रहरी टोली परिचालन गरिएको जनाएको छ । सवारी दुर्घटना तर्फ जेठ महिनामा २ वटा दुर्घटना भएका छन् ।

जसमा ६ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने १५८ वटा सवारी साधनलाई कारबाही गरी कुल रु १लाख ४८हजार ५००रुपैँया राजस्व संकलन गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले राजस्व चुहावट तथा भन्सार छली नियन्त्रण अभियान अन्तर्गत खाद्यान्न, लत्ताकपडा र सुर्तीजन्य पदार्थ गरी अनुमानित रु २२हजार ,६५५रुपैँया बराबरको अवैध सामान बरामद गरी आवश्यक कारबाहीका लागि भन्सार कार्यालय दार्चुलामा पठाएको छ।

त्यस्तै, प्राकृतिक दोहन नियन्त्रण तर्फ नदीजन्य पदार्थको अवैध उत्खननमा संलग्न १० वटा ट्र्याक्टर र १० जना मानिसलाई नियन्त्रणमा लिई रु ७५हजार बराबरको बालुवा बरामद गरिएको छ।

अवैध वन पैदावार तर्फ अपि नाम्पा संरक्षण क्षेत्रबाट अवैधानिक रूपमा संकलन गरिएको ३९ बोरा (१,३६४ केजी) झ्याउ बरामद गरिएको छ । जसको अनुमानित बजार मूल्य रु ३,लाख ४२हजार रहेको छ। यस कार्यमा संलग्न ४ जनालाई पक्राउ गरी आवश्यक कारबाही अघि बढाइएको छ।

विपद व्यवस्थापनतर्फ भीरबाट लडेका चट्याङ तथा हावाहुरीका ४ वटा घटनामा परी २ जनाको मृत्यु भएको छ भने १ जना घाइते भएका छन्। प्रहरी टोलीले १ जनाको सकुशल उद्धार गरेको छ भने २ वटा चौपायाको क्षति भएको छ। विपद कार्यमा १६ जना प्रहरी जनशक्ति परिचालन गरिएको प्रगति प्रविवेदनमा उल्लेख गरिएको छ ।

समुदाय र विद्यालय कार्यक्रम: प्रहरीले कुल १४२ वटा सचेतना कार्यक्रम १०६ समुदाय केन्द्रित र ३६ विद्यालय केन्द्रित संचालन गरेको छ। जसमा ५२० महिला, १०३७ पुरुष, ९०९ बालक र ९३० बालिका गरी कुल ३,४१६ जनाको सहभागिता रहेको थियो।

गाँजा फँडानी अभियानतर्फ जिल्लाका विभिन्न स्थानमा प्राकृतिक रूपमा उम्रिएका अनुमानित १८हजार ३५० बोट अवैध गाँजा प्रहरीले फँडानी गरी नष्ट गरेको छ।प्रहरीले आफ्नो सेवालाई थप पारदर्शी र जनमुखी बनाउन जेठ १३ गते दार्चुलाको ब्याँस गाउँपालिका वडा नं. ६ हुतीस्थित वडा कार्यालयको सभाहलमा सार्वजनिक नागरिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ ।

 

Leave A Reply

Your email address will not be published.