बैतडीे बस दुर्घटना अपडेट : एकको मृत्यु, दश जना घाइते

बैतडी–बैतडीको शाहीलेकमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । धनगढीबाट बैतडी सदरमुकाम गइरहेको सुदूरपश्चिम यातायातको सुपप्र ०१००१ ख ३६४६ नम्बरको बस शुक्रबार साँझ पौने ६ बजे दुर्घटनामा परेको हो ।

उक्त दुर्घटनामा परेर दशरथचन्द नगरपालिका–६ का ३५ बर्षीय विरेन्द्रबहादुर चन्दको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । चन्दको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परेर १० जना घाइते भएका छन् । घाइते हुनेमा दशरथचन्द नगरपालिका–४ की २७ बर्षीया लक्ष्मी ऐर, दशरथचन्द नगरपालिका–४ मडलाका ८ बर्षीय बालक हेमविक्रम जोशी, सोही ठाउँकी ६० बर्षीया पूर्णदेवी जोशी, सोही ठाउँकी २२ बर्षीया पूजा कार्की र उनकी तीन बर्षीया छोरी दृष्टि कार्की रहेका छन् ।

यस्तै दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंकी २० बर्षीया ललिता लावड, सोही ठाउँकी ३२ बर्षीया जानकी लावड, दशरथचन्द नगरपालिका–६ की ३० बर्षीया लक्ष्मी साउँद, दशरथचन्द नगरपालिका–५ का ५२ बर्षीय कर्णदेव भट्ट र पाटन नगरपालिका–९ खोड्पेका ३५ बर्षीय कविराज भट्ट पनि घाइते भएका छन् ।

घाइते मध्ये कविराज भट्टलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ भने अन्य घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता, प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

पाटन नगरपालिका–८ घर भएका ३७ बर्षीय केशवसिंह महराले चलाएको बस एक्कासी अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । चालक महरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त बसमा चालकसहित १२ जना सवार रहेका बताइएको छ । बस सडकबाट करीब ३० मिटर तल खसेको छ ।

दुर्घटनाका बिषयमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.