प्रधानमन्त्री बालेनलाई संसद आउन आङ्देम्बको निम्तो

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई संसदमा आउन आग्रह गरेका छन् ।

संसदीय प्रणालीमा प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने भन्दै उनले संसद आउन आग्रह गरेका हुन् । तर, आउनुअघि सभामुखलाई जानकारी दिन सुझाएका छन् । ‘तपाईं संसदमा आउनुपर्छ, संसदको अवमूल्यन गर्न हुँदैन तर, आउनुअघि सभामुखलाई चाहिँ जानकारी दिनुहोस्,’ आङ्देम्बेले शुक्रबारको संवैधानिक परिषद् बैठकमा आग्रह गरेको खुलेको छ ।

जवाफमा प्रधानमन्त्री बालेनको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘जानकारी नगराई पनि जान मिल्दो रहेछ ।’ लगत्तै आङ्देम्बेले भने, ‘त्यसरी मिल्ने त सांसदलाई पो त । तपाईं त प्रधानमन्त्री हो नि । जतिखेल बोल्न मन लाग्यो त्यतिखेर कहाँ बोल्न मिल्छ ?’

गत १७ जेठमा प्रधानमन्त्री बालेन संसद बैठकमा आकस्मिक रूपमा पुगेका थिए । सभामुख डोलप्रसाद अर्याललाई समेत जानकारी नदिइकन पुगेपछि बोल्न हात उठाएर समय मागेका थिए ।

सभामुख अर्यालले समय दिएपछि उनी रोष्ट्रममा गएका थिए र प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा सहभागी भएका थिए । त्यहीबेला उनले सीमा सम्बन्धी सांसदहरूले सोधको प्रश्नमा जवाफ दिने क्रममा ‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’ भनेका थिए, जुन अभिव्यक्ति विवादित बन्यो ।

Leave A Reply

Your email address will not be published.