दार्चुला। नेपाली सेनाको दार्चुला–टिंकर सडक आयोजनाले ब्याँस गाउँपालिका–४ सुन्सेरास्थित दुहुँ–ब्याँस क्षेत्रको प्रसिद्ध धार्मिकस्थल तथा शक्तिपीठ गोरखनाथ मन्दिरको संरक्षण, सौन्दर्यीकरण र व्यवस्थापन अभियानलाई अघि बढाएको छ।
आयोजनाका प्रमुख सेनानी (कर्णेल) राजेश कट्वालका अनुसार मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा थप आकर्षक बनाउने उद्देश्यले भगवान् शिवको मूर्ति स्थापना, दानपेटिका जडान तथा मन्दिर परिसरको सजावटका लागि आवश्यक संरचना निर्माणको कार्य भइरहेको छ।
जेठ ८ गते सोमबार आयोजना प्रमुख सेनानी कट्वालले विशेष पूजाआजा गरी गोरखनाथ मन्दिरमा भगवान् शिवको मूर्ति स्थापना गरेका थिए। हिन्दु धर्मअनुसार गुरु गोरखनाथलाई भगवान् शिवका १०८ अवतारमध्येका एक तथा नाथ सम्प्रदायका प्रवर्तक मानिन्छ। यस कारण शिवमूर्ति स्थापनाले मन्दिरको धार्मिक महत्व, आकर्षण र गरिमा अझ बढाएको विश्वास गरिएको छ।
स्थानीय रूपमा गोरखनाथ मन्दिरलाई “चिलघोले मन्दिर“ का नामले पनि चिनिन्छ। स्थानीय अग्रजहरूका अनुसार गोरखनाथ देवता चिलको रूपमा आएर उक्त स्थानमा घोल (गुड) बनाएर बसेका कारण यस स्थानलाई चिलघोले भनिन थालेको जनविश्वास रहिआएको छ।
मन्दिरको संरक्षण, व्यवस्थापन तथा धार्मिक वातावरणलाई थप व्यवस्थित र आकर्षक बनाउन नेपाली सेनाले गरेको योगदानको स्थानीयवासीले खुलेर प्रशंसा गरेका छन्। जय गोरखनाथ सचेतना समाज, ब्याँस–४ सुन्सेराले सामाजिक सञ्जालमार्फत सेनाले गरेको धार्मिक तथा सांस्कृतिक संरक्षणको कार्यको सराहना गर्दै आयोजना प्रमुख सेनानी (कर्णेल) राजेश कट्वालसहित दार्चुला–टिंकर सडक आयोजना परिवारप्रति आभार व्यक्त गरेको छ।
स्थानीयका अनुसार यस अभियानले गोरखनाथ मन्दिरको धार्मिक, सांस्कृतिक तथा पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।