१७ तस्बिरमा हेर्नुस् ‘गोरक्ष बाटिका’ निर्माणपछि स्थानीयलाई हस्तान्तरण (फोटो फिचर)

दार्चुला । नेपाली सेनाको दार्चुला–टिंकर (तुषारपानी–टिंकर) सडक आयोजनाले गोरखकाली अष्टमीको अवसरमा ब्याँस गाउँपालिका–४ सुनसेरामा अवस्थित दुहुँ–ब्याँस क्षेत्रकै प्रसिद्ध शक्तिपीठ गोरखनाथ (चिलघल्या) मन्दिरको सौन्दर्यकरण गर्नुका साथै मन्दिर परिसरमा ‘गोरक्ष बाटिका’ निर्माण गरी स्थानीय जय गोरखनाथ सचेतना समाजलाई हस्तान्तरण गरेको छ।

आयोजनाका प्रमुख प्रमुख–सेनानी राजेश कटवालका अनुसार धार्मिक, सांस्कृतिक तथा पर्यावरणीय महत्वलाई थप प्रवद्र्धन गर्ने उद्देश्यले मन्दिर परिसरको सौन्दर्यकरणसँगै गोरक्ष बाटिका निर्माण गरिएको हो।

यस अवसरमा प्रमुख–सेनानी कटवालले गोरखनाथ मन्दिरमा विधिपूर्वक पूजा–आराधना गरेका थिए। साथै स्थानीय विद्यार्थीहरूबाट गोरक्ष बाटिकामा वृक्षारोपण गराइएको थियो। कार्यक्रममा विद्यार्थीलाई स्टेशनरी सामग्री समेत वितरण गरिएको थियो।

हिन्दु धर्ममा गुरु गोरखनाथलाई भगवान् शिवका १०८ अवतारमध्येका एक, उच्चकोटीका सिद्ध योगी तथा नाथ सम्प्रदायका प्रवर्तकका रूपमा मानिन्छ। मन्दिर परिसरमा भगवान् शिवको मूर्ति स्थापना गरिएसँगै मन्दिरको धार्मिक महत्व, आकर्षण र सौन्दर्य थप वृद्धि भएको स्थानीयवासी बताउँछन्।

दुहुँ–ब्याँस क्षेत्रमा गोरखनाथ मन्दिर ‘चिलघल्या’ वा ‘चिलघोले’ मन्दिरका नामले समेत परिचित छ। स्थानीय अग्रजहरूका अनुसार गोरखनाथ देवता चिलको रूपमा आएर उक्त स्थानमा वास बसेकाले यस मन्दिरलाई ‘चिलघोले’ नामले चिनिने किम्बदन्ती रहेको छ।

स्थानीयवासी तथा जय गोरखनाथ सचेतना समाज, ब्याँस–४ सुनसेराले नेपाली सेनाले मन्दिर संरक्षण, व्यवस्थापन तथा धार्मिक वातावरणलाई थप व्यवस्थित र आकर्षक बनाउन गरेको योगदानको उच्च प्रशंसा गरेका छन्। सामाजिक सञ्जालमार्फत समाजले दार्चुला–टिंकर सडक आयोजनाका प्रमुख प्रमुख–सेनानी राजेश कटवाल तथा सम्पूर्ण आयोजना परिवारप्रति आभार व्यक्त गर्दै गोरखनाथ देवको असीम कृपा सधैँ रहिरहोस् भन्ने शुभकामना समेत दिएको छ।

यी सबै फोटो दिपक खातीको फेसबुक पेजबाट सभार गरिएको हो

Leave A Reply

Your email address will not be published.