दार्चुला । जिल्ला प्रहरी कार्यालय दार्चुलामा चालु आर्थिक वर्ष २०८२/०८३ मा गत आर्थिक वर्षको तुलनामा मुद्दा दर्ता हुने क्रम घटेको छ।
जिल्ला प्रहरी कार्यालयले सोमबार सार्वजनिक गरेको वार्षिक कार्यप्रगति विवरणअनुसार हालसम्म १२७ वटा मुद्दा दर्ता भएका छन्। गत आर्थिक वर्षको सोही अवधिमा १४९ वटा मुद्दा दर्ता भएका थिए।
प्रहरीका अनुसार दर्ता भएका १२७ मुद्दामध्ये ९२ वटा मुद्दाको फछ्र्योट भइसकेको छ, जुन कुल मुद्दाको ७२.४४ प्रतिशत हो। हाल ३० वटा मुद्दा पेन्डिङ अवस्थामा रहेका छन् भने ५ वटा चालु मुद्दा छन्।
जघन्य कसुरतर्फ दर्ता भएका १० वटा मुद्दामध्ये कर्तव्य ज्यानसम्बन्धी ४ वटा र जबरजस्ती करणीसम्बन्धी ६ वटा गरी सबै मुद्दाको अनुसन्धान सम्पन्न गरी फछ्र्योट गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं सूचना अधिकारी हेमराज भट्टले जानकारी दिए।
चालु आर्थिक वर्षमा प्रहरीमा २२८ वटा ठाडो उजुरी परेकोमा सबैको फछ्र्योट गरिएको छ। हराएका मोबाइलसम्बन्धी २१ वटा निवेदन प्राप्त भएकोमा एमडीएमएस प्रणालीमार्फत ११ वटा मोबाइल फेला पारी सम्बन्धित धनीलाई बुझाइएको तथा बाँकी मोबाइलको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।
यस अवधिमा १०७ जना फरार अभियुक्तमध्ये ८४ जनालाई पक्राउ गरिएको छ। पक्राउ परेकामार्फत ३४ वर्ष ८ महिना कैद सजाय कार्यान्वयन हुनुका साथै ५ लाख ३० हजार ३९४ रुपैयाँ जरिवाना असुल गरिएको प्रहरीले जनाएको छ।
लागुऔषध नियन्त्रणतर्फ ३ किलो ४८६ ग्राम चरेस तथा १० ग्राम ९५ मिलिग्राम खैरो हेरोइन बरामद गरी १४ वटा मुद्दा दर्ता गरिएको छ। यस क्रममा २२ जनालाई पक्राउ गरिएको छ। साथै, लागुऔषध दुव्र्यसनमा परेका ४६ जनालाई सम्झाइबुझाइ गरी अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।
चालु आर्थिक वर्षमा चालु मुद्दाका १५७ जना प्रतिवादीमध्ये १५३ जनालाई पक्राउ गरिएको छ। त्यस्तै, ७ लाख ३६ हजार ६५१ रुपैयाँ बराबरको भन्सार छलीको सामान बरामद गरी राजस्व संकलन गरिएको छ।
प्रहरीले ४६ जना व्यक्ति, ४१ वटा ट्र्याक्टर, एक मिनी ट्रक बालुवा तथा १ हजार ३६८ केजी झ्याउसहित करिब ६ लाख ३९ हजार ७०५ रुपैयाँ बराबरका अवैध नदीजन्य तथा वन पैदावार बरामद गरेको जनाएको छ।
सामुदायिक प्रहरी साझेदारी तथा जनचेतनामूलक कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा १ हजार ३४८ वटा कार्यक्रम सञ्चालन गरिएका छन्, जसबाट २० हजार ४९५ जना लाभान्वित भएका छन्। साथै, ७ वटा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न गरिएको प्रहरीले जनाएको छ।
सेवाग्राहीको सुविधाका लागि जिल्ला प्रहरी कार्यालयले मूल गेटमा नागरिक सहजकर्ता प्रहरी खटाएर नि:शुल्क निवेदन तथा जाहेरी लेख्ने व्यवस्था गरेको छ। निवेदन तथा जाहेरीको ढाँचासहितको क्यूआर कोड, बालमैत्री कक्ष, स्तनपान कक्ष तथा मापसे परीक्षणका लागि ब्रेथलाइजर मेसिन पनि प्रयोगमा ल्याइएको छ।
त्यसैगरी, अनलाइनमार्फत उजुरी तथा निवेदन दर्ता गर्न सकिने व्यवस्था गरिएको, मातहतका प्रहरी इकाइसँग अन्तर–इकाइ कार्यसम्पादन मूल्याङ्कन प्रणाली लागू गरिएको तथा सेवाप्रवाहलाई थप प्रभावकारी बनाउने विभिन्न सुधारका कार्यक्रम सञ्चालन गरिएको कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार नागरिकलाई सहज सेवा प्रदान गर्ने उद्देश्यले इलाका प्रहरी कार्यालय गोकुलेश्वरले आगामी आर्थिक वर्षको साउन १ गतेदेखि मुद्दा चलाउने अख्तियारी समेत प्राप्त गरिसकेको छ। साथै, पीडितलाई अनुसन्धानको प्रगतिबारे नियमित रूपमा टेलिफोन तथा भेटघाटमार्फत जानकारी गराउने व्यवस्था मिलाइएको र गोकुलेश्वर–दार्चुला सडकखण्डका विभिन्न स्थानमा ट्राफिक नियमसम्बन्धी सचेतनामूलक होर्डिङ बोर्डसमेत राखिएको वार्षिक प्रतिवेदनमा उल्लेख छ।