सुदूरपश्चिममा नेकपा संसदीय दलको बैठक जारी, मुख्यमन्त्री दाबी गर्ने विषयमा छलफल

कैलाली । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को प्रदेश संसदीय दलको बैठक सुरु भएको छ।

सुदूरपश्चिम प्रदेश सरकारबाट एमाले बाहिरिएपछि कांग्रेसले नेकपासँग निरन्तर छलफल गरिरहेको सन्दर्भमा यो बैठक राखिएको हो । केन्द्रमा कांग्रेस-एमालेबीच गठबन्धनबारे अन्तिम निष्कर्ष ननिस्किएसम्म प्रदेशमा नेकपाले दुवै दलसँग आन्तरिक छलफल गरिरहेको छ ।

बैठकले यस विषयमा पार्टीको म्यान्डेट तयार गर्ने बताइएको छ । बैठकमा पार्टी इन्चार्ज भानुभक्त जोशी, सहइन्चार्ज दीर्घ सोडारी र पार्टी अध्यक्ष हरि चौधरी (उत्सव) पनि सहभागी छन् ।

सुदूरपश्चिममा सबैभन्दा ठूलो दल भएकाले सरकारको नेतृत्व आफूहरूले पाउनुपर्ने नेकपाको अडान छ । नेकपाका एक सांसदले भने, `आज हामी दुवै दलसँग छलफल गर्ने निर्णय गर्दैछौँ ।´

यहाँ नेकपाका २२ सांसद (निलम्बित सदस्य र सभामुखसहित) छन्। सबैभन्दा ठूलो दल भएको दाबी गर्दै नेकपाले अहिले कांग्रेससँग बजेट मात्र पारित गरेर अघि बढ्न नसकिने, मुख्यमन्त्री पनि आफूहरूले पाउनुपर्ने बताएको छ। केन्द्रमा एमालेसँग पनि छलफल जारी रहेको छ।

सुदूरपश्चिम प्रदेश सरकारको बजेट पारित गर्न २७ सांसदको समर्थन आवश्यक पर्छ। कांग्रेसका १८ सांसद छन्। तीमध्ये प्रकाश देउवा अमेरिका रहेका छन्। एमालेका चार मन्त्रीलाई बर्खास्त गरेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो, जसपछि मुख्यमन्त्री अल्पमतमा परेका छन्।

अहिले बजेट पारित हुने सम्भावना टर्दै गएपछि मुख्यमन्त्रीले अध्यादेशतर्फ नजर लगाइरहेको चर्चा छ।

यही बेला बसेको नेकपा संसदीय दलको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

Leave A Reply

Your email address will not be published.