दार्चुला । गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएर बेसहारा भएका बालबालिकालाई मासिक पाँच हजार रुपैयाँ राहत वितरण सुरु गरेको छ ।
शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयले महामारीबाट अभिभावक गुमाएका बालबालिकाको अध्ययन अध्यापनका लागि मासिक राहत रकम उपलब्ध गराउने व्यवस्था चालु वर्षको बजेट कार्यक्रममा समावेश गरेको थियो ।
सामाजिक विकास मन्त्रालयले कार्यविधि बनाएर बालबालिकाको तथ्याङ्क सङ्कलन गरी कागजात पुग्नेलाई हिजो रकम हस्तान्तरण गरिएको हो । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राहत रकम हस्तान्तरण गर्नुभएको थियो । सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक वर्षका लागि प्रतिव्यक्ति ६० हजार रुपैयाँ सहयोग प्रदान गर्न लागेको हो ।
प्रदेशमा स्थायी बसोबास गर्ने र कोरोनाबाट ज्यान गुमाएका नागरिकका छोराछोरीले यो रकम रकम प्राप्त गर्नेछन् ।
उहाँका अनुसार मन्त्रालयमा १७० जनाको नाम प्राप्त भएकामा आठ जनाको १८ वर्ष उमेर पुगेको र बाँकी एक सय ६२ जनमध्ये एक सय २ वटा निवेदनको मापदण्डबमोजिम कागजात पूरा हुन बाँकी छ ।
राहत रकमका लागि कोभिडका कारण ज्यान गुमाएका अभिभावकको पीसीआर रिपोर्ट, स्वास्थ्य संस्था वा अस्पतालमा ज्यान गुमाएको भए त्यो खुल्ने कागजात, वडा कार्यालयको सिफारिस, विद्यालयमा अध्ययन गर्नेको हकमा विद्यालयको सिफारिस तथा अहिले संरक्षकत्वको विवरणसहितका कागजपत्र मन्त्रालयले माग गरेको थियो।