दार्चुलाको दुहुँ गाउँपालिकाले वडाबाटै समाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । गाउँपालिकाले विहिबार एक सूचना जारी गदैँ वडाबाटै समाजिक सुरक्षा भत्ता वितरण गर्ने जनाएको हो ।
गाउँपालिकाले साउन १८ गते देखि २५ गतेसम्म पाँचवटै वडा कार्यालयबाट समाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत भागा बडालले जानकारी दिए ।
दुहुँ गाउँपालिकाका गाउँबस्ती विकट र दुर्गममा रहेको हुँदा बैंकमा भत्ता लिन जान निकै कठिन परेको बेला वडाबाटै भत्ता बुझने व्यवस्था गरिएको उनले बताए ।
गाउँपालिकाले आर्थिक वर्ष २०८२/०८३को चौथो चौमासिकको समाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको छ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र दुहुँ गाउँपालिकाको समन्वयमा भत्ता वितरण हुने बताइएको छ ।
भत्ता बुझ्न जाँदा लाभग्राहीले राष्ट्रिय परिचयपत्र (भइसकेको हकमा), सामाजिक सुरक्षा भत्ता प्राप्त परिचयपत्र, लाभग्राहीको नागरिकता तथा संस्थामार्फत भत्ता लिने अवस्थामा संस्थाको नागरिकता र लाभग्राहीको नागरिकता साथमा ल्याउनुपर्ने सूचनामा उल्लेख गरिएको छ।
भत्ता वितरण तालिका अनुसार:
- साउन १८ र १९ गते वडा नं. ३ का लाभग्राहीलाई वडा कार्यालयमै भत्ता वितरण गरिनेछ।
- साउन २० गते वडा नं. ४ का लाभग्राहीलाई वडा कार्यालयमा भत्ता वितरण हुनेछ।
- साउन २१ गते वडा नं. ५ का लाभग्राहीलाई वडा कार्यालयमै भत्ता वितरण गरिनेछ।
- साउन २२ गते वडा नं. २ का लाभग्राहीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा भुक्तानी गरिनेछ।
- साउन २५ गते वडा नं. १ का लाभग्राहीलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा भत्ता वितरण गरिने गाउँपालिकाले जनाएको छ।