बाजुरा। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले काँचो स्याउ टिपेर बिक्री गर्ने क्रम बढ्न थालेपछि किसान र व्यापारीलाई १५ भदौअघि स्याउ नटिप्न तथा बिक्री–वितरण नगर्न निर्देशन दिएको छ । गाउँपालिकाको कृषि विकास शाखाले सूचना जारी गर्दै स्याउको गुणस्तर, स्वाद र बजारको विश्वसनीयता जोगाउन तोकिएको समयअघि स्याउ टिपेर बिक्री नगर्न आग्रह गरेको हो ।
कृषि शाखा प्रमुख विनोद शाहीका अनुसार स्याउ उत्पादन तथा क्षेत्रफलका हिसाबले अग्रणी रहेको पालिकामा केही किसानले नपाकेको स्याउ टिपेर बजार पठाउन थालेको पाइएको छ । समयअघि स्याउ टिप्दा यसको स्वाद, मिठास र पौष्टिक गुणमा कमी आउने तथा बजारमा स्थानीय उत्पादनप्रतिको विश्वाससमेत घट्न सक्ने भएकाले १५ भदौपछि मात्र स्याउ टिपेर बिक्री–वितरण गर्न आग्रह गरिएको उनले बताए ।
गाउँपालिकाको कृषि विकास शाखा र पालिकामा कार्यरत विभिन्न परियोजनाका प्राविधिक टोलीले रेफ्र्याक्टोमिटरमार्फत परीक्षण गर्दा अधिकांश बगैँचाका स्याउमा आवश्यक मिठास र गुणस्तर पूर्ण रूपमा विकास नभएको तथा फलमा अपेक्षित स्वाद नआएको पाइएको शाहीले बताए ।
गाउँपालिकाले तोकिएको समयअघि स्याउ टिपेर बिक्री–वितरण गरेको प्रमाणित भए प्रचलित कानुन तथा गाउँपालिकाको निर्णयअनुसार कृषि तथा सम्बन्धित सेवासुविधा रोक्का गर्न सकिने चेतावनी दिएको छ ।
